फाइल तस्बिर ।

हेटौंडाः पछिल्लो तीन दिनमा मकवानपुरमा २ सय ४० केजी लागूऔषध गाँजासहित ८ युवा पक्राउ परेका छन् । धेरै गाँजा उत्पादन हुने मकवानपुरको मनहरीबाट हेटौंडा हुँदै बिक्रीको लागि भारत लैजान लागेको गाँजा प्रहरीले बरामद गरेको हो ।

बिहीबार बिहान ३ बजेको समयमा प्रहरीले एक सय ४३ केजी ३ सय ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ना १ ख ९९१० नम्बरको गाडीमा लुकाएर ल्याएको गाँजासहित चालक सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–५ का २८ वर्षीय सनकबहादुर तामाङ, सह–चालक वडा नम्बर ८ का २४ वर्षीय सोमे तामाङ र सोही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ का १८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही प्रकृतिले गाँजा ओसारपसार गरेको एक कन्टेनरसहित प्रहरीले ३ जनालाई मंगलबार पनि पक्राउ गरेको थियो । प्रहरीले मंगलबार मनहरीबाट हेटौंडा आउँदै गरेको ना २ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाएर ल्याएको ९६ किलो ४ सय ग्राम गाँजा बरामद गरेको थियो ।

प्रहरीले गाडी चालक मनहरी गाउँपालिका–६ का २५ वर्षीय सन्तोष आले मगर, सह–चालक २१ वर्षीय मोसा घलान, कन्टेनरमा सवार कैलाश गाउँपालिका–८ का २४ वर्षीय उमेश लामालाई प्रक्राउ गरेको थियो । गाँजा ओसारपसारमा संलग्न चितवन राप्ती नगरपालिका–२ बस्ने ३१ वर्षीय बिष्णु लामा र कैलाश गाउँपालिका–८ का २९ वर्षीय रोशन मुक्तान भने थप अनुसन्धानपछि पक्राउ परेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।