हेटौंडाः गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्वको अन्तर्राष्ट्रिय दिवस (२६ जुन)को अवसरमा राष्ट्रव्यापी माध्यमिक तहस्तरीय कविता प्रतियोगिता हुन लागेको हो ।
‘लागूऔषधरहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने मुल राष्ट्रिय नाराका साथ उक्त दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुबीच भर्चुअल कविता प्रतियोगिता हुने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ ।
कविता प्रतियोगितामा सहभागी हुनका लागि लागूऔषध रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कविता हुनुपर्नेछ । गद्य वा पद्य दुबै शैलीका कविता प्रतियोगितामा समावेश गर्न सकिनेछ । कविता बढीमा २ सय शब्दसम्मको हुनुपर्ने जनाइएको छ । कविता शिष्ट नेपाली भाषामा लेखिएको हस्तलिखित हुनुपर्नेछ । कविताका रचनाकारको नामथर तगा विद्यालयको नाम, कक्षा, उमेर, सम्पर्क नम्बर र ईमेल ठेगाना स्पष्टरुपमा खुलाइएको हुनुपर्नेछ ।
एक विद्यालयबाट कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुमध्ये २ जनासम्म सहभागी हुन सक्नेछन् । कविता इमेलमार्फत् अगामी असार ८ गतेसम्म उपलब्ध गराउनुपर्नेछ । प्राप्त कविताहरुमध्ये उत्कृष्ट ३० वटा कवितालाई अनलाइन वाचनमा सहभागी गराइनेछ । कविता वाचन भने असार ११ गते भर्चुअल माध्यमबाट हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक प्रदेशबाट सहभागी एक–एक जनालाई सान्तवनास्वरुप २ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र उपलब्ध गराइनेछ ।