कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः नेपाल शिक्षक महासंघले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । महासंघले सरकारसमक्ष पेश गरेको आफ्ना मागहरुबारे जानकारी दिन सञ्चारकर्मीसँग बिहीबार छलफल तथा अन्तरक्रिया गरेको हो । महासंघ बैशाख २० गतेदेखि आफ्ना ३४ बुँदे माग पूरा गराउन आन्दोलनमा रहेको छ ।

छलफलमा विद्यालयका शिक्षक तथा कर्मचारीका माग, मुद्दा, विगतमा भएका सम्झौता, चालु शैक्षिक आन्दोलन तथा समसामयिक सबालमा सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ । देशमा गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने र संविधानको धारा ३१ को शिक्षासम्बन्धी हकको व्यवस्थाअनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्नुपर्ने मागसहित ३४ बुँदे मागका बारेमा सहभागीहरुले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । नेपाल शिक्षक महासंघका अध्यक्ष पूर्णप्रसाद दवाडीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।