हेटौडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले नारायणी नदीले कटान गरेको पश्चिम चितवनका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको हो ।
मुख्यमन्त्री पौडेलले नारायणी नदीले कटान गरेको गोलाघाट, न्युरे चोक, सिस्वार, गाँजीपुरलगायतका नदी तटीय क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयका समस्या बुझ्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २६ र २७ का विभिन्न स्थानमा नारायणी नदीले कटान गरेको छ भने चैते धानलगायतका अन्नबालीमा क्षति पुर्याएको छ । स्थानीयले वर्षेनि नारायणी नदीले दुःख दिएको भन्दै दीर्घकालीन समाधानका लागि आग्रह गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले तत्कालीन र दीर्घकालीनरुपमा नदी नियन्त्रणको काम हुने विश्वास स्थानीयलाई दिलाउनुभयो । उहाँले दीर्घकालीनरुपमा नारायणी नदीलाई व्यवस्थित गरी सदाका लागि यो समस्या अन्त्य गर्न प्रदेश सरकार लागिपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा दीर्घकालीनरुपमा नदी नियन्त्रणको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव बस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि गर्न सकिने कामका लागि प्रदेश सरकारले यथोचित बजेट उपलब्ध गराउने बताउनुभयो । यो वर्ष पुनः बाढी आउन सक्ने भन्दै मुख्यमन्त्री पौडेलले सबैलाई सचेत रहन आग्रहसमेत गर्नुभयो ।
स्थानीयले नदी किनारबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् हुँदा वर्षेनि नदी मानव बस्तीतर्फ आइरहेकोमा ध्यानाकर्षण गराएका थिए । अवलोकनमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेश सांसद विजय सुवेदी र कृष्ण भुर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, सम्बन्धित वडाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।