चैनपुर (राक्सिराङ)ः बालबालिका र शिक्षाको क्षेत्रमा क्रियाशील संस्था इस्थर बेञ्जामिन स्मृति संस्थाले मकवानपुरको राक्सिराङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि संस्थाले मंगलबार राक्सिराङ गाउँपालिकाको चैनपुरस्थित गाउँपालिकाको कार्यालयमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धवीर लामाले गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । संस्थाले पीपीई सेट २० थान, अक्सिमिटर १० थान, थर्मल गन २० थान, मास्क १ हजार थान, ग्लप्स ३ हजार थान, सेनिटाइजर ४० लिटर, लिक्विड ह्याण्ड वास २५ लिटर, हात धुने साबुन १ सय ५० थान र स्वच्छता किट ५० थान प्रदान गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएयता मकवानपुरको विकट राक्सिराङ गाउँपालिकालाई पहिलो पटक सहयोग प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभएको छ ।
दुर्गम क्षेत्र लक्षित गरी प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुहुँदै अध्यक्ष मल्लले प्राप्त सहयोगबाट कोरोना परीक्षण, कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उपयोगी हुने बताउनुभएको छ । कोरोना भाइरसका कारण विश्व नै आतंकित भैरहेको र महामारीको चपेटाबाट गुज्रिनुपरेकाले यस अवस्थामा स्वास्थ्य सेवा प्रमुख भएको भन्दै लामाले स्वास्थ्य सामग्री सहयोग गरिएको जानकारी दिनुभयो । यस्तो विषम परिस्थितिमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आफ्नो कार्यक्षेत्र रहेका स्थानीय तहहरुका स्वास्थ्य संस्थाहरुलाई दैनिक प्रायोजनमा आउने स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने कार्यक्रम अनुरुप राक्सिराङ गाउँपालिकाको चैनपुर स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।
राक्सिराङ गाउँपालिकाले एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिरहेको छ । पालिकाले संक्रमितलाई उपचारका लागि अक्सिजन सुविधासहित आइसोलेसन वार्ड सञ्चालन गरेको छ । राक्सिराङ गाउँपालिकामा मेडिकल अधिकृतको नेतृत्वमा कोभिड–१९ अस्पताल गरेको छ ।