हेटौंडाः विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचाररत उनको ४४ वर्षको उमेरमा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोभिड–१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो । अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन नसकेको कारण उहाँको असामयिक निधन भएको मेडिसिटी अस्पतालले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालमा वैकल्पिक राजनीतिको वकाल गर्ने थापा पेशाले सूचना प्रविधि क्षेत्रका उद्यमी हुन् । उहाँकै अगुवाईमा अभियानका रुपमा सुरु भएको विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो ।

कोरोना संक्रमणका कारण उहाँ बिरामी परेपछि उहाँको उपचारका लागि शुभेच्छुकहरुले स्वःस्फूर्त रुपमा चन्दा संकलन अभियानसमेत संकलन गरेका थिए, जहाँ देश तथा बिदेशका हजारौं आम नागरिकले उहाँको उपचारका लागि २४ घण्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन गरेका थिए ।