हेटौंडाः हेटौंडा–११ स्थित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र (रुहेल सिआरसी) द्वारा २५ घर परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ । मकवानपुरको बकैया गाउँपालिकाका ४, बागमती गाउँपालिकाका १६ र हेटौंडा उपमहानगरपालिकाका ४ र मनहरी गाउँपालिकाका १ घरपरिवारलाई सहयोग गरेको हो ।
रुहेल सिआरसीका शिक्षा संयोजक कैलाश धितालका अनुसार प्रत्येक घर परिवारलाई १ बोरा चामल, ५ किलो दाल, ३ लिटर खाने तेल, ३ किलो चिउरा, आधा किलो मसला, २ ओटा हात धुने साबुन, २ पाकेट नुन सहयोग गरिएको छ । वास्तविक विपन्न, ज्याला मजदुरी गरी दैनिक जीवन निर्वाह गर्ने परिवारलाई सहयोग गरिएको रुहेल सिआरसीका कार्यक्रम व्यवस्थापक केदारनाथ आचार्यले बताउनु भयो ।
रुहेल सिआरसीका कार्यक्रम व्यवस्थापक केदारनाथ आचार्य, शिक्षा संयोजक कैलाश धिताल, फिल्ड संयोजक राजेन्द्र भोम्जन र सामाजिक परिचालक अमित श्रेष्ठले बुधबार सबै स्थानमा खाद्य सामग्री वितरण गरेका हुन् । बालगृह पनि सन्चालन गरिरहेको रुहेल सिआरसीले मकवानपुरका विभिन्न १७ वटा विद्यालय र क्याम्पसमा अध्ययन गर्ने १ हजार ५ सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक सहयोग गर्दै आइरहेको छ ।