हेटौंडाः बागमती प्रदेशमा गएको पछिल्लो २४ घण्टामा ४५ सय २३ संक्रमितले कोरोना संक्रमणलाई जितेका छन् । गएको २४ घण्टामा प्रदेशमा २५ सय ७९ संक्रमित थपिएका छन् । यो संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार २३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रायका प्रवक्ता पुरुषोत्तम सेढाइले बताउनुभयो । उहाँका अनुसार अहिले संक्रमण दर केही हुँदै गएको छ । संक्रमण भन्दा कोरोनालाई परास्त गर्नेको संख्यामा वृद्धि भएको हो । बागमती प्रदेशमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई भने तिव्रता दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश, जिल्ला र स्थानीय तीन वटै तहमा यो समूह सक्रिय भएको भन्दै जनचेतना फैलाउनुपर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशमा ५० हजार होम आइसोलेसनमा बसेका छन् । तर अधिकांश होम आइसोलसनमा बस्नेहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको पाइदैन । कोरोना संक्रमितभएका खुलेहाम बाहिर हिड्न नहुने उहाँले बताउनुभयो । प्रदेशमा अहिले उपचारमा धेरै समस्या नभएको उहाँको भनाई छ ।

अक्सिजन अभाव भएपनि अस्पतालहरुमा पूर्ति भइरहेको प्रवक्ता सेढाईले बताउनुभायो । अक्सिजन आपूर्तिलाई सहज बनाउन प्रदेशको सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट संचालन गर्न लागिएको जानकारी दिनुभयो । अहिले प्रदेशमा ४५३ आइसोलेसन सेन्टरको बेड, २६३४ अस्पताल बेड, एचडियू ३१६२, आइसियू ९१८ र ४ सय ३७ भेन्टिलेटर सेवा उपलब्ध छ ।