हेटौंडाः कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि बन्द भएका मकवानपुरका विद्यालयहरुले विद्यार्थीको वार्षिक मूल्यांकन तथा नतिजा प्रकाशनको तयारी गरेका छन् । जिल्लाका अधिकांश विद्यालयहरुमा वार्षिक परीक्षा चल्दाचल्दैकोभिड संक्रमणको जोखिम बढेपछि गत वैशाख दोस्रो साताबाट विद्यालयहरु बन्द गरिएका थिए ।
कोभिड–१९ का कारण गतवर्ष धेरै समय लकडाउन भएर विद्यालय बन्द भएपछि संघीय सरकारले जेठ महिनासम्म शैक्षिक सत्र लम्ब्याएको थियो । जेठभित्र वार्षिक परीक्षा तथा नतिजा प्रकाशन गरेर असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजनाअनुसार अहिले विद्यालयहरुले विद्यार्थीको आन्तरिक मूल्यांकन गरेर नतिजा प्रकाशनको तयारी गरेका हुन् । विद्यार्थीको वार्षिक मूल्यांकन सम्पन्न गरी नतिजा प्रकाशनकाो समयावधि नै तोकेर स्थानीय सरकारहरुले निर्देशन दिन थालेपछि विद्यालयहरुमा मूल्यांकन तथा नतिजा प्रकाशनको काम सुरु भएको हो ।
हेटौंडा उपमहानगरपालिकाले यही जेठ २० गतेभित्र विद्यालयका कक्षा ८ बाहेक कक्षा ९ सम्मको मूल्यांकन र नतिजा प्रकाशन सम्पन्न गर्न निर्देशन दिएको छ । गत बुधबार बसेको उपमहानगरपालिकाको नगर शिक्षा समिति बैठकले गरेको निर्णयबमोजिम जेठ २० गतेसम्ममा सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको वार्षिक मूल्यांकन तथा नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो ।
वार्षिक परीक्षा भइसकेका विषयहरुको नतिजा सोही परीक्षाको आधारमा गर्न र परीक्षा हुन बाँकी विषयहरुको भने सम्भव भएसम्म भर्चुअल माध्यमबाट सूचना प्रविधिको प्रयोग गरेर मूल्यांकन गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ । भर्चुअल माध्यमबाट परीक्षा सञ्चालन गर्न सम्भव नभएमा त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा र निरन्तर विद्यार्थी मूल्यांकनका मापदण्ड तथा अन्य शैक्षिक गातिविधिलाई आधार मानेर विद्यार्थीको मूल्यांकन गर्न सकिने भएको छ । आगामी जेठ २० गतेभित्र नतिजा प्रकाशन गरी जानकारी दिनसमेत महाशाखाले निर्देशन दिएको छ ।
नतिजा प्रकाशन गर्दा गु्रप म्यासेन्जर, मोबाइल फोन, भाइभर, ईमेल, म्यासेन्जर तथा च्याट आदि माध्यमबाट विद्यार्थीलाइ जानकारी गराउनुपर्ने बताइएको छ । नतिजा प्रकाशन गर्दा विद्यार्थीको नाम नामेसी उल्लेख गरी सामाजिक सञ्जालमा प्रकाशन गर्न नहुने र गर्नु परेमा रोल नम्बर वा सिम्बोल नम्बरमात्र लेखी प्रकाशन गर्न सकिने उपमहानगरपालिकाले जारी गरेको निर्देशनमा उल्लेख छ ।
चालु शैक्षिक सत्र जेठ महिनाभरी रहेकोले विद्यार्थीको भर्ना प्रक्रिया असार महिनाको पहिलो हप्ताबाट सुरु गर्न निर्देशन दिइएको छ । अन्य सिकाईका क्रियाकलापहरु वैकाल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार गराउन आग्रह गरिएको छ । अधारभूत तहका उत्तीर्ण परीक्षासम्बन्धी निर्णय भने पछि हुने बताइएको छ ।
यसैगरी गत बिहीबार बकैया गाउँपालिकाको शिक्षा शाखाले पनि विद्यार्थीको वार्षिक मूल्यांकन तथा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । हाल फैलिएको नयाँ प्रकारको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी भौतिकरुपमा परीक्षा लिन सहज नभएपछि नतिजा प्रकाशन गर्न विद्यालयहरुलाई निर्देशन दिइएको बकैया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो । निश्चित आधार तथा मापदण्ड अपनाएर कक्षा ८ बाहेक अन्य कक्षाको मूल्यांकन तथा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।
यस्तै, मकवानपुरगढी गाउँपालिकामा पनि कक्षा ८ बाहेकका परीक्षाको नतिजा प्रकाशन गरिने भएको छ । कक्षा ८ मा ४ सय ३० जना विद्यार्थीले परीक्षा दिने भए पनि परीक्षासम्बन्धी कुनै निर्णय भएको छैन । गाउँपालिकाका १६ वटा विद्यालयको आधारभूत तह उत्तीर्ण परीक्षाको टुंगो लाग्नासाथ परीक्षाको नतिजा प्रकाशन गरिने मकवानपुरगढी गाउँपालिकाका शिक्षा अधिकृत सोमबहादुर घलानले जानकारी दिनुभएको छ । अहिलेको विषम परिस्थितिले शिक्षा प्रणालीमा समेत प्रभाव पारेकाले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन आईसीटी, इन्टरनेटको सञ्जाल सबै विद्यालयमा सञ्चालन भए शिक्षामा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । प्रदेश सरकार, केन्द्रीय सरकार र स्थानीय सरकारबीच समन्वय गरी तत्काल शिक्षा प्रणालीमा परेको प्रभावलाई न्यूनीकरण गर्न आघि बढ्नुपर्ने घलानले बताउनुभयो ।