हेटौंडाः स्वास्थ्य सामाग्री बजार मूल्यभन्दा दोब्बर मूल्यमा बिक्रि गरेको भन्दै हेटौंडाको एक मेडिकल सिल गरिएको छ । हेटौंडा–१, राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकललाई शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिल गरेको हो ।
जिल्ला प्रशसन कार्यलय मकवानपुरको अनुगमन समितिले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मूल्य भन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएपछि मेडिकललाई सिल गरेर मेडिकलमा रहेका २ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रण पर्नेमा मेडिकलमा कार्यरत स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया निशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ल रहेकी छन् । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्चसहितको टोलीले शुक्रबार बजार अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाईने जानकारी दिनुभएको छ ।