बागमती प्रदेशबाट राष्ट्रियसभामा एकजना सदस्यका लागि हुँदै गरेको निर्वाचन नेकपा एमालेभित्रको विवाद समाधान वा विग्रह भन्ने कुराको टुंगो गर्ने कडीका रुपमा हेरिएको छ । उपनिर्वाचनमा नेकपा एमालेतर्फबाट उम्मेदवारी दिएका बहालवाला गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा हुँदैछ । मजदुर किसान पार्टीका तर्फबाट उम्मेद्वारी दिइएको भए पनि देवकोटा र थापाबीचकै भिडन्त रोचक हुने भएको छ । एमालेको एकताको सूत्र हुने वा विग्रहको अन्तिम भन्ने टुंगो मतदानपछिको परिणामले दिने आँकलन गरिएको छ । सूर्य चिन्हवाहक उमेद्वारले जितेमा एकता हुने नत्र नहुने अनुमान छ । यस्तै स्वतन्त्र उमेद्वारले जितेमा पार्टीको संस्थापन पक्षलाई एकतामा आउन थप दवाव हुने अवस्था पनि बन्नेछ ।
स्वतन्त्ररुपमा उम्मेद्वारी दिएका देवकोटालाई कांग्रेस तथा एकीकृत नेकपा माओवादीको समर्थन रहेको छ । उनलाई राप्रपाबाहेक अन्य साना दल र स्वतन्त्र प्रतिनिधिहरुले मतदान गर्ने छन् । राप्रपाले सूर्य चिन्हमा मतदान गर्ने भएको छ । यो प्रदेशमा एमालेको एकल बहुमत छ । तर दुबैजना प्रतिस्पर्धी एमालेकै नेता भएकाले परिणाम कसको पक्षमा जान्छ भन्नसक्ने अवस्था छैन । यदि एमालेभित्रको विग्रहलाई कमजोर बनाउने र संस्थापन पक्षलाई एकताका लागि दवाव दिने हो भने माधव नेपाल–झलनाथ खनाल पक्षका मतदाताले देवकोटाको चुनाव चिन्ह कलममा छाप लगाउने विश्लेषण छ भने अर्कोतर्फ त्यस्तो भए पार्टी औपचारिकरुपमा फुटको संघारमा पुग्ने आँकलन पनि छ ।
दलभित्रको असन्तुष्टिलाई सम्बोधन गर्न कार्यदल बनेर काम नै थालेकाले अब एकता विपरित जनप्रतिनिधिले मदतान गर्नु हुँदैन भन्ने संस्थापन पक्षको जोड छ भने अर्को पक्षले संस्थापनलाई एकताका लागि दवाव दिन आफ्नो शक्ति यतिबेलै देखाउने र बार्गेनिङ बढाउने मौकाका रुपमा लिने अवसर पनि छ । यी दुबै कोणबाट आउने तर्कले मतदाताहरु अझै अनिर्णित छन् । अनिर्णयको अवस्थालाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री केपी ओली शर्माले निर्वाचन आचारसंहिता विपरित मतदानको अघिल्लो दिन चेतावनीयुक्त वक्तव्यमार्फत् रामबहादृुर थापालाई मत मागेका छन् । तर माधव नेपाल पक्ष भने मौनरुपमा भित्रभित्रै देवकोटालाई मत मागिरहेको अवस्था छ ।
बागमती प्रदेशसभामा कुल ११० सांसद रहेकोमा एक सांसदको निधन भएसँगै १०९ सांसदले मत दिँदैछन् । डा. खिमलाल देवकोटालाई माओवादीका २३ सांसद, कांग्रेसका २२ गरी कुल ४५ जना प्रदेश सांसदले मत दिने सम्भावना छ । यस्तै स्थानीय तहका प्रमुख तथा उपप्रमुखसमेत गरी २३८ जनाले मदतान गर्नेछन् । यस्तै गृहमन्त्री थापालाई नेकपा एमालेका ५६ सांसदले मत दिने भए पनि देवकोटा माधवकुमार नेपाल निकट भएका कारण ह्वीप उल्लंघन हुनसक्ने सम्भावना छ । पार्टीहरुले आफ्ना मतदातालाई निर्देशन दिनसक्ने भएपछि ह्वीप लाग्दैन । गोप्य मतदान भएकाले कसले दियो वा दिएन भनेर संसदमा हुने मतदानजस्तो थाहा हुँदैन । कुन उम्मेद्वारलाई कसले मत दियो वा दिएन भन्ने थाहा हुँदैन । त्यसैले कारवाहीको भागिदार हुने सम्भावना कम हुने भएकाले पनि मतदाताले आफ्नो विवेक प्रयोग गर्नसक्ने अवस्था छ । तर पनि दलहरुले ह्वीप जारी भने गरेका छन् ।