हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको पल्पसा सभागृहमा पल्पसा सभागृहमा आइसोलेसन सेन्टर संचालन गर्ने भएको छ । पल्पसा सभागृहमा कोभिड संक्रमितहरुको लागि आइसोलेसन संचालनको सम्भाव्यता बारे संघले आज बुधबार सम्बन्धित निकायका पदाधिकारीहरुसँग दुई चरणमा छलफल गरेको छ ।
आइसोलेसन संचालनका लागि संघबाट ४ लाख रुपैयाँ सहयोग गरिने संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । यसैगरी छलफलमा सहभागी अन्य प्रतिनिधिहरुले यथोचित सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले आइसोलेसन संचालनमा यातायातको सुविधाको लागि आफ्नो सुमो निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ । आइसोलेसन सेन्टर संचालनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमति प्राप्त भएपश्चात थप तयारीका साथ व्यवस्थापनमा खट्ने संघका अध्यक्ष कटुवालले बताउनु भयो ।
छलफलबाट संघका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा उपस्थित संघ/संस्थाको प्रतिनिधि सदस्य रहने गरी आइसोलेसन सेन्टरलाई व्यवस्थापन गर्ने निर्णय गरिएको छ । साथै घरमै आइसोलेसनमा रहेका कोभिड संक्रमितहरुको अवस्था बुझ्न, स्वास्थ्य परामर्श तथा औषधीलगायत उपलब्ध गराउन स्थलगत रुपमा पनि खट्ने निर्णय गरिएको संघले जनाएको छ ।
छलफल कार्यक्रमपछि एभरेष्ट ग्याँस उद्योग प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य शिव प्रसाद घिमिरेले २५ थान अक्सिजन सिलिण्डर मकवानपुर उद्योग वाणिज्य संघलाई हस्तान्तरण गर्नुभएको छ । यस्तै संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले अक्सिजन भर्ने कार्यको खर्च व्यहोर्ने जानकारी दिनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतलगायत नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, नारायणी यातायात कम्पनी, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल औषधी व्यवसायी संघ मकवानपुर, सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, चुरेहिल हस्पिटल, मकवानपुर सहकारी अस्पताल, हेटौंडा मोडेल अस्पताल, मकवानपुर होटल एशोसिएसन, नारायणी पेट्रोलियम विक्रेता संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।