मकवानपुरको साहित्य क्षेत्रमा सक्रिय रुपमा लागिपर्नु भएका साहित्यकार दीपक गौतम साहित्य क्षेत्रमा नै रम्न रुचाउँनुहुन्छ । उहाँले वि.स २०७० सालदेखि हालसम्म निरन्तर रुपमा झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षको भुमिका निर्वाह गर्दै आउनुभएको छ । साहित्यिक क्षेत्रमा योगदान दिँदै आउँनुभएका गौतम पछिल्लो गौतम पछिल्लो समय नवसर्जक साहित्य सञ्जालमार्फत देशभरि साहित्यप्रति रुची राख्ने विद्यार्थीहरुलाई साहित्य प्रशिक्षण गराउँदै आइरहनुभएको छ । उहाँ बालसाहित्यको क्षेत्रमा विद्यावारिधि अध्ययनरत हुनुहुन्छ भने पछिल्लो समय उहाँको विसंगत वर्तमान नामक कृति प्रकाशित छ । यसै सन्दर्भमा साहित्यकार गौतमसँग समृद्ध समाजका संगी लामाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः तपाईं साहित्य क्षेत्रमा कति समयदेखि हुनुहुन्छ ? साहित्यप्रति कसरी मोह बस्यो ?
गौतमः छतिवनको महेन्द्र माविमा अध्ययनरत हुँदा नै २०५६ सालदेखि झरना साहित्यिक परिवार मकवानपुर र विद्यालयमा भएको साहित्यिक वातावरणले साहित्यप्रतिको मोह जगायो ।
समाजः तपाईंको भर्खरै सार्वजनिक भएको विसंगत वर्तमान कृतिमा हामी कस्तो खालको वर्तमान पाउँछौं ?
गौतमः शीर्षकले नै विसंगत वर्तमानको अर्थ बताएको छ । वास्तवमा नेपाली समाजमात्र नभई विश्वकै भूगोललाई हेर्दा हामीमा सामाजिक, राजनीतिक, पर्यावरणीय विकृति, विसंगति र समाजमा नमिलेका पाटाहरु धेरै भएकाले ती नमिलेका पाटाहरुलाई मिलाउनुपर्छ र समाजलाई विसंगत होइन, संगतिपूर्ण बनाउनुपर्छ भन्ने यसमा समावेश एक सय ५१ वटा मुक्तकबाट पाउन सकिन्छ ।
समाजः विसंगत वर्तमानभन्दा अघि पनि तपाईंको केही कृति सार्वजनिक भएको थियो कि ?
गौतमः २०६२ सालमै प्लस टु अध्ययन गर्दैगर्दा गजल संग्रहको पाण्डुलिपि तयार गरेर भूमिका लेखिसकेको थिएँ । तर, त्यसमा परिमार्जनको आवश्यकता महसुस गरेर मैले रोकेँ । २०७७ सालको मंसिरमा चितवनबाट प्रकाशित उडान नामक संयुक्त अन्तरदेशीय गजलसंग्रह प्रकाशन भएको थियो ।
समाजः मकवानपुरमा साहित्यका पारखीहरु कत्तिको पाउनुभएको छ ?
गौतमः मकवानपुरमा साहित्यको राम्रो माहौल छ । यहाँ साहित्यका पाठक, लेखक तथा यस विषयमा अध्ययन गर्नेहरु धेरै हुनुहुन्छ । विशेषगरी साहित्यिक क्षेत्रमा नयाँ पुस्ताको जागरण पनि उत्साहप्रद देखिएको छ । स्थापित पुस्तामा लेख्ने पुस्ताको साथै युवा पुस्तामा साह्रै लोभलाग्दो लेख्नेहरुको जमात पनि राम्रो छ । नयाँ पुस्तामा समेत साहित्यप्रतिको जागरण र लेखनप्रतिको झुकाब देखिन्छ भने सचेत पाठक र लेखकहरु पनि बढ्दै गएको महसुस भएको छ । यस्तै, मैले नेतृत्व गरिरहेको झरना साहित्यिक परिवारले नयाँ पुस्ता जागरण अभियान भनेर ६० ठाउँमा पुगेका छौं । लकडाउनको समयमा अनलाइनबाट पनि साहित्यिक जागरणलाई नियमित बनाइएको छ ।
समाजः तपाईंले आफ्ना कृतिलाई कसरी बजारीकरण गरिरहुनभएको छ ?
गौतमः तीतो यथार्थ के छ भने, रक्सी किन्न मानिस आफैं पसल धाउछ तर किताबचाहिँ बेच्न हिँड्नुपर्छ र त्यसमा पनि विशेष आग्रह गर्नुपर्छ । हेटौंडा तथा मकवानपुरमा मलाई माया गर्ने स्कूल, कलेजहरु भएकाले ती ठाउँमा पुगेर मैले मेरो किताब लिन आग्रह गरेअनुसार उहाँहरुले लिइदिनुभएको छ । मैले जसका लागि कृति लेखेँ, उहाँहरुलाई मैले पढेर प्रतिक्रिया दिनुहोला भनेर पुस्तक दिएको छु । साथै, पुस्तकालय भएका स्कूल, कलेजहरुमा केही प्रति किताब पुस्तकालयमा राख्न आग्रह गरेर आफ्नो कृतिको बजारीकरण गरिरहेको छु ।
समाजः सर्जकहरुलाई साहित्यमै रमाएर जीविकोपार्जन गर्न सम्भव छ ?
गौतमः असम्भव छैन । नेपालको परिप्रेक्षमा पनि अहिले केही लेखकहरु लेखेरै बाँच्ने परिस्थितिमा हुनुहुन्छ । युरोप, अमेरिकामात्र नभई भारतमा पनि धेरै लेखकहरु लेखेरै बाँचेको अवस्था हामीले देख्न सक्छौं । नेपालमा सबैले लेखेर बाँच्ने अवस्था नभए पनि केही लेखकले रोयल्टीबाटै बाँच्न सक्ने अवस्था देखिएकोले लेखेरै बाँच्ने अवस्था बन्दैछ, बनाउनुपर्छ । यसका लागि पठन संस्कृतिको विकास भने हुनु आवश्यक छ ।
समाजः एउटा सर्जकले लेख्नेदेखि कृतिको छपाई, बजारीकरणसम्मको काम गर्न सर्जकका निम्ति कत्तिको अप्ठेरो छ ?
गौतमः एउटी आमाले जति प्रसव पीडा, कष्ट सहेर सन्तानलाई जन्म दिन्छिन्, त्यही खालको पीडा र कष्ट सर्जकले पनि सहनुपर्छ । कृति जन्माउने बेलाको पीडा त छँदैछ, त्यसपछि बजारीकरणको हकमा पनि साहित्य पढ्ने मान्छे खोज्दै हिँड्नुपर्ने अवस्था छ । किताब किनेर पढ्ने संस्कार पूर्ण विकास नभइसकेको, किताब सित्तैमा दिए पनि नपढिदिने अवस्था पनि हामीकहाँ छ । एउटा सर्जकले कृति निकाल्दै गर्दा भोग्ने पीडाका साथै कृति जन्मेपछि पनि सचेत पाठकको कमीले थप पीडा भोग्नुपर्ने हुन्छ ।
समाजः आउने समयमा यहाँको अर्को कृति पढ्न कति समय पर्खनुपर्छ ?
गौतमः मसँग अहिले एउटा गजल संग्रह तयारी अवस्थामा छ । एउटा खण्डकाब्य अन्तिम चरणमा छ । साहित्यका कविता विधाभित्रका हाइकु, मुक्तक, गजल, लोक छन्दका कविता, शास्त्रीय छन्दका कविता, गद्य कविता, गीतलगायत विधा कसरी लेख्ने भनेर एउटा किताब तयार गरेको छु । अहिले मसँग तीनवटा कृति लगभग तयारी अवस्थामा रहे पनि एकैपटक धेरै कृति निकाल्नु उचित लागिरहेको छैन । अर्को वर्ष नयाँ गजल संग्रह प्रकाशन गर्ने तयारीमा छु । साथीभाइको सल्लाह सुझावअनुसार दुई–दुई वर्षमा एउटा कृति निकाल्ने सोच बनाएको छु ।