जमुना थिङ, हेटौंडा–१२, मेम्बरटोलमा बाख्रा र कुखुरा पालन गर्दै आउनुभएका व्यक्ति हुन्,रामबहादुर लामा ।

हेटौंडाः हेटौंडा–१२, मेम्बरटोलमा बाख्रा र कुखुरा पालन गर्दै आउनुभएका व्यक्ति हुन्, ५२ बर्षका रामबहादुर लामा । पेशाले नेपाल आर्मी हुनुभएका लामा अहिले आफ्नो रिटायर्ड जीवनमा बाख्रा र कुखुरा पालन गरेर समय बिताउँदै रमाइरहेका छन् । २०४७ सालमा १९ वर्षको उमेरमा आर्मीको जागिरमा प्रवेश गर्नुभएका लामा १० वर्ष दुबईमा सेकुरेटी गार्डमा समेत काम गरेर नेपाल फर्किनुभएको हो ।

उहाँले दुबईबाट आउनुभएपछि बाख्रा तथा कुखुरा पालन पेशा रोज्नुभयो र सुरु गर्नुभयो । १८ वर्षको आर्मीको जागिर सकिएपछि पेन्सन पनि आइरहेको लामाले बताउनुभयो । उहाँले बाख्रा पालन सुरु गरेको ६ महिना र कुखुरा पालन सुरु गरेको १ वर्ष भयो । सुरुमा ३ वटा बाख्रा पालेर व्यवसाय सुरु गर्नुभएका लामाले अहिले फार्मको रुपमा विकास गर्नुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा फार्म दर्ता गराएर व्यवस्थितरुपमा बाख्रा तथा कुखुरा पालन गरिरहनुभएका लामाले कतैबाट पनि अनुदान प्राप्त गर्नुभएको छैन । अहिलेसम्म वडाबाट पनि अनुदान नपाएको उहाँको भनाई छ । १८ वटा बाख्रा र ६ सयवटा लोकल र लोटन कुखुरा लामाको फार्ममा छ । १६ हजारबाट बाख्रा र ४ लाख रुपैयाँबाट कुखुरा पाल्न सुरु गरेको लामाले जानकारी दिनुभयो । बाख्रा पालनबाट उहाँले वार्षिक २ लाख र कुखुराबाट ४० हजार मासिक आम्दानी हुने गरेको बताउनुभयो ।

कुखुराभन्दा बाख्रामा राम्रो आम्दानी हुने गरेको उहाँको भनाई छ । १० बोरा दाना एक महिनामा कुखुराले खाने गरेको र मकै र च्याँख्ला खुवाउने गरेको उहाँले जानकारी दिनुभयो । यता बाख्रालाई भने डाले घाँस, मकै, चोकर र पराल दिने गरेको लामाले बताउनुभयो । लामालाई श्रीमती र दुई छोराले यस पेशामा सहयोग गर्दै आइरहनुभएको छ ।

रिटायर्ड जीवनमा पनि केही गर्न सकिन्छ भनेर उहाँ राम्रो उदाहरण बन्नुभएको छ । स्वदेशमा रोजगार छैन भन्नेहरुलाई सानो लगानीबाट व्यवसाय गर्न सकिने उहाँले बताउनुभयो । जागिरे जीवनमा पनि आफू सन्तुष्ट भएको र अहिले व्यावसायिक जीवनमा पनि सन्तुष्ट रहेको उहाँको भनाई छ ।

कुखुरा पालन पेशालाई प्राथमिकता दिन सर्वसुलभ दाना र कुखुराको चल्ला निकाल्न ह्याचरीका लागि सहयोग हुनुपर्ने उहाँले आफ्नो धारणा राख्नुभयो । स्वरोजगार बनेका स्थानीयलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । यसो भएमा वैदेशिक रोजगारका लागि युवा पलायन हुनुनपर्ने र कृषि पेशा गरेर आफ्नै देशमा जीविकोपार्जन गर्न सकिने उहाँ भन्नुहुन्छ ।