हेटौंडाः बागमती प्रदेश सभा फेरि पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदमा उठेर अवरोध गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गर्नुभएको हो । विद्युतिय बस खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनको नाममा ५० लाख दिने मन्त्रिपरिष्दको निर्णय फिर्ता नभएसम्म संसद अवरुद्ध रहने प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले बताउनुभएको छ ।

सरकारले पूर्वाधार र योजना नबनाई बस खरिद प्रक्रिया अघि बढाएको जनाउँदै सरकारको पैसा त्यहाँ फस्ने उहाँको भनाई छ । बसमा लगानी गरेर दिगो रुपमा अगाडि बढ्न नसक्ने कुरा हुँदा पर्याप्त छलपल हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

बैठकमा संसदीय दलका नेताहरुले मात्र बोलेका थिए । प्रतिपक्ष दलको नेता इन्द्रबहादुर बानियाँले नयाँ वर्षको शुभकामना दिँदै सरकारले खरिद गर्न बोलपत्र आह्वान गरेको विद्युतीय बसको विषयमा विरोध गर्नुभयो । यसअघि पनि विद्युतीय बसको खरिद प्रक्रिया नरोकिएको भन्दै प्रदेश सभा स्थगित हुँदै आएको थियो । बागमती प्रदेश सभा बस खरिद प्रक्रियामै रुमलिदै आएको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेशनलाई दिने ५० लाखको विषयमा जवाफ दिनुभएको थियो तरे जवाफ चित्त बुझ्दो नभएको र अमूर्त जवाफ आएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बैठकमा उठेर संसद अवरुद्ध पारेका थिए ।