आवाज विहीनका लागि काम गर्नेहरु संगठित भएको सात दशक भइसकेको छ । यसबीचमा अनेक व्यक्तिहरुले नेतृत्व गरेका छन् । पत्रकार महासंघको इतिहासले राजनीतिक व्यवस्था पनि धेरै खेपेको छ । नागरिक आन्दोलनको अगुवा संस्थाका रुपमा निरन्तर खबरदारी गरेको इतिहास छ । वि.सं. २०१२ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पत्रकार संघका रुपमा स्थापित संस्थामा हाल १३ हजार भन्दा बढी सदस्य छन् । स्थापना हुँदा यसको उद्देश्य र परिवेशमा यतिबेला धेरै भिन्नता भइसकेको छ । पत्रकारिताको उद्देश्यसमेत परिवर्तन भएका छन् । निश्चित उद्देश्यका लागि गरिने पत्रकारिता अहिले व्यावसायिक बन्दै गएको छ । राजनीतिक अधिकार स्थापनाका लागि गरिने यो पेशा अहिले जनजीविकाका अन्य पक्षमा केन्द्रित हुन आवश्यक छ ।
पत्रकार महासंघको नेतृत्वका लागि राजनीतिक विचारका आधारमा निर्वाचन हुने गरेको आरोप पनि छ । उम्मेद्वार बन्न दलीय आशीर्वाद लिने पुरानै प्रचलन हो । यही मान्यताकै आधारमा यसवर्ष पनि नेतृत्वमा प्रतिस्पर्धा हुँदैछ । निर्वाचन पद्दतिमा यस पटक नयाँ प्रणाली अपनाइएको अवस्था छ । लोकतान्त्रिक मूल्य मान्यताको वास्तविक अभ्यास नेपाल पत्रकार महासंघले गर्ने प्रयास गरेको छ । हिजोका दिनमा प्रतिनिधिमार्फत् केन्द्रीय नेतृत्व चयन हुने गर्दथ्यो भने यसपटक प्रत्यक्ष प्रणाली अपनाइएको छ । प्रत्येक जिल्लाका साधारण सदस्यले आफ्नै जिल्लाबाट केन्द्रीय नेतृत्व चयन गर्न सक्ने प्रणालीको सुरुवात भएको छ । यसकारण पनि यो निर्वाचन ऐतिहासिक नै मान्न सकिन्छ ।
निर्वाचन प्रणालीमा सुधार गर्दै गर्दा नयाँ नेतृत्वले कार्यशैलीमा पनि परिवर्तन गर्न आवश्यक छ । सञ्चार क्षेत्रको उन्नयनका लागि नयाँ दृष्टिकोण दिन आवश्यक हुन्छ । तर यतिबेला निर्वाचनको मैदानमा देखिएका सबै उम्मेद्वारहरु नेतृत्वमा पुग्न परम्परागत नारामै खुशी देखिएका छन् । दृष्टिकोणमा नयाँपन समयको आवश्यकता हो । जसरी निर्वाचन प्रणाली सुधार भएको छ, त्यसैगरी व्यावसायिकतामा परिवर्तन गरिनु पर्दछ । नेतृत्वमा पुग्नेहरुले राज्यसँग मोलमोलाई गर्ने र पेशाकर्मीका अधिकार बिर्सने पक्षलाई सुधार गर्नै पर्दछ । निर्वाचनको नयाँ प्रणालीबाट नयाँ दृष्टिकोणसहितको नेतृत्व आवश्यक छ । स्वतन्त्रताविरोधी नीति नियमका विरुद्धमा पत्रकारिता क्षेत्रलाई गोलबद्ध बनाउन सक्ने सक्षम नेतृत्व आजको आवश्यकता हो ।
श्रमजीवी पत्रकारिताका समस्या लामो समयदेखि थाती नै छ । सुधारका लागि गरिएका प्रयास बीचैमा अलपत्र पारिएको अवस्था छ । राज्यले सञ्चार क्षेत्रमाथि गर्ने नियन्त्रणलाई चुनौती दिनु आवश्यक छ । पत्रकारको भौतिकदेखि पेशागत सुरक्षा मुख्य चुनौती हो । पेशाप्रतिको दक्षता महत्वपूर्ण पक्ष बन्दै आएको छ । अन्यत्र काम नपाएपछि पत्रकारिता गर्ने परम्परामा सुधार गर्न सक्नु पर्दछ । सञ्चारगृह र सञ्चारकर्मीबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै विकास गर्न सक्ने नेतृत्व आजको खाँचो हो । मालिक र मजदुरको सम्बन्धमा बिचौलियाको भूमिका निर्वाह गर्दै आफ्नो फाइदा खोज्ने पद्दतिको अन्त्य गर्ने क्षमता महासंघसँग हुनु जरुरी छ । नीतिगत तथा व्यावहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवद्र्धन आजको खाँचो हो । अबको नेतृत्वले यस्ता अभियानमा खरो देखिने क्षमता राख्न सक्नुपर्दछ ।