हेटौंडाः हेटौंडा अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा लिने बिरामीको संख्यामा कमी देखिएको छ । कोरोना भाइरस संक्रमणका लागि गरिएको लकडाउनका कारण अस्पतालमा आएर उपचार गराउने बिरामीको संख्या कम हुँदा हेटौंडा अस्पतालको ओपीडीबाट स्वास्थ्य सेवा लिने बिरामीको संख्यामा कमी देखिएको हो ।
चालु आर्थिक वर्षको हालसम्म हेटौैंडा अस्पतालको ओपीडीबाट स्वास्थ्य उपचार सेवा लिनेको संख्या ६० हजार एक सय ३० जना रहेको अस्पतालका सूचना अधिकृत राजीव झाले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७६/०७७ मा अस्पतालको ओपीडी सेवा लिने बिरामीको संख्या एक लाख १४ हजार ६ सय १० थियो । चालु आर्थिक वर्षको करिब ९ महिनाको अवधिमा ओपीडी सेवा लिनेको संख्या गतवर्षको तुलनामा निकै कम देखिएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनासम्म पनि ओपीडी सेवा लिनेको संख्या करिब आधामात्र हुनुले यसवर्ष बिरामीको संख्यामा निकै कमी आएको देखिन्छ ।
हेटौंडा अस्पतालबाट गतवर्षमा ओपीडी सेवा लिनेमा पुरुषको संख्या ४७ हजार ४ सय ८१ जना र महिलाको संख्या ६७ हजार १ सय २९ जना रहेको अस्पतालका सूचना अधिकृत झाले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म ओपीडी सेवा लिने ६० हजार १ सय ३० जनामध्ये पुरुषको संख्या २४ हजार ९ सय ४५ जना र महिला ३५ हजार १ सय ८५ जना रहेको हेटौंडा अस्पतालका सूचना अधिकृत झाले जानकारी दिनुभयो ।