हेटौंडाः नेपाल पत्रकार महासंघको निर्वाचनअन्तर्गत् आज बुधबार देशैभर मतदान हुँदैछ । महासंघका केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा तथा प्रतिष्ठान समिति सबैको मतदान एकैपटक हुनेछ ।

महासंघले मतदानका लागि सबै जिल्ला शाखा तथा काठमाडौं उपत्यकाभित्रका विभिन्न १९ वटा प्रतिष्ठानहरुमा मतदान केन्द्रको व्यवस्था गरेको छ । महासंघको जिल्ला वा प्रतिष्ठान, प्रदेश तथा केन्द्रीय कार्यसमितिलाई सबै जिल्ला तथा प्रतिष्ठानका सदस्यहरुले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ ।

महासंघको केन्द्रीय समितिको अध्यक्षका लागि चारजनाको उम्मेदवारी परेको छ । गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोखरेलबीच केन्द्रीय अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । यस्तै, महासंघको बागमती प्रदेश समिति अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । बागमती प्रदेश अध्यक्षका लागि मकवानपुरका गिरिजाप्रसाद अधिकारीसहित चितवनका हरिप्रसाद पोखरेल र नुवाकोटका शिव देवकोटा चुनावी प्रतिस्पर्धामा देखिएका हुन् ।

महासंघको मकवानपुर शाखा अध्यक्षमा मणिराज गौतम र बालकृष्ण अधिकारीले प्रतिस्पर्धा गर्दैछन् । मकवानपुर शाखा कार्यसमितिको १८ पदमध्ये १७ पदमा मतदान हुने भएको हो । शाखा कार्यसमितिको एक जना दलित सदस्य निर्विरोध भइसकेको छ ।

महासंघको मकवानपुर शाखाका एक सय ६४ जना सदस्यले मतदानमा भाग लिन पाउनेछन् । जिल्लाका लागि मतदान केन्द्र रिगल हेटौंडा रिसोर्टमा तोकिएको छ । मतदानको समय विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ भने मतदान सम्पन्न भएपछि मतगणनाको काम हुने बताइएको छ ।