मकैमा लाग्ने फौजी किराको उपचारका लागि बाली उपचार शिविरमा मकैको बोट ल्याएका एक किसान ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा मकवानपुरगढी–६, बाग्दलीमा मंगलबार एकदिने बाली उपचार शिविर संचालन गरिएको छ । चालु आर्थिक वर्षमा ८ स्थानमा शिविरको आयोजना गर्ने गरी मंगलबार पहिलो कार्यक्रमको रुपमा बाग्दलीमा शिविरको आयोजना गरिएको हो ।

मंगलबार आयोजना गरिएको शिविरमा ३९ जना कृषकले मकै, भन्टा, माच्छे खुर्सानी, बन्दा, भट्मास, गोलभेडा, काँक्रो, करेला, फर्सी गरी जम्मा ४८ वटा नमूना उपचारका लागि ल्याएका मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । मंगलबार मुख्यतः मकै बालीमा अमेरिकन फौजी किरा र फेदकटुवा किरा प्रकोपको रुपमा देखिएको चौधरीको भनाइ छ । यस्तै भन्टाको गवारो, खुर्सानीमा ओइलाउने समस्या, बन्दाको पुतलीसम्बन्धी समस्या देखिनुका साथै लहरे तरकारी बालीमा पनि विविध समस्या देखिएको चौधरीले बताउनुभयो ।

बालीमा देखिएका समस्याहरुको बारेमा कृषकहरुलाई प्राविधिक सल्लाह दिनुका साथै केहि मात्रामा फौजी किराको पासो र विषादी समेत वितरण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि मकवानपुरगढी गाउँपालिकाले तरकारी बालीलाई लक्षित गरी बाली उपचार शिविरको आयोजना गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा भने कोभिड–१९, संक्रमणको जोखिमका कारण शिविरको आयोजना गर्न नसकिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा थप ७ वटा बाली उपचार शिविरको आयोजना गरिने उहाँले बताउनुभएको छ ।