हेटौंडाः एघारौं संस्करणको जीतपुरसिमरा गोल्डकप प्रतियोगिता आगामी साताबाट सुरु हुने भएको छ । आयोजक नवजनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति घोषणा गरेको हो । गोल्डकप चैत ३१ गतेदेखि वैशाख ११ गतेसम्म हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दशौं संस्करणसम्म सिमरा गोल्डकपको नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डरअनुसार प्रतियोगिता २० गतेदेखि सुरु हुने भनिएपनि व्यवस्थापनको तयारी नपुगेकाले खेल पछि सरेको आयोजकले जानकारी दिएको छ । अहिले सबै तयारी करिब सकिएकाले चैत अन्तिमदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताउनुभयो ।

सिमरा रंगशालामा हुने प्रतियोगितामा यसवर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । यसवर्ष प्रतियोगिता साँझका समयमा सञ्चालन हुने भएको छ । त्यसका लगि मैदानमा फ्लड लाइट जडान गरिएको उहाँले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कार राशिमा आयोजकले यसवर्ष १६ प्रतिशतले वृद्धि गरेको छ । २०७५ माघमा सञ्चालन भएको अघिल्लो संस्करणका विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गरेका थिए । गतवर्ष भने कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

आयोजकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यसवर्ष पनि मोटरसाइकल वा स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।

करिब ७० लाख ५५ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विशेष सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । त्यसैगरी अन्य सहयोगीको रुपमा क्याल ग्रुप अफ इण्डष्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टील्स्, हुलास स्टील्स्, क्लासिक इण्डष्ट्रिज, विश्वकर्मा सिमेन्टस्, होटल तथा पर्यटन व्यवसायी संघ बारालगायत रहेका छन् ।