हेटौंडाः बागमती प्रदेशको वन मन्त्रालयसँगै रहेको जंगलमा डढेलो लाग्दा नियन्त्रणको केही प्रयास हुन सकेको देखिएन । जंगलनजिकै डिभिजन वन कार्यालय मकवानपुर छ । तर आगो निभाएर नियन्त्रणमा लिने प्रयास हुन सकेन । हेटौंडा–२, वनस्खण्डी नजिकैको जंगलमा डढेलो लागेको ३ दिनसम्म पनि नियन्त्रण गर्न नसकिएको हो ।

जंगलमा लागेको डढेलो बस्ती नजिकै आउन थालेपछि स्थानीयहरु नै आगो निभाउन खटेको स्थानीय अनिता शाह बताउनुहुन्छ । ‘घरनजिकै डढेलो आयो, राति १२ बजेसम्म सुत्नै सकिएन । बाल्टीमा पानी भरेर तयारी अवस्थामा बस्यौं’, उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत इमनाथ पौडेलले आगो निभाउने प्रविधि नहुँदा जंगलमा सल्केको डढेलो नियन्त्रणमा ल्याउन कठिनाई भएको बताउनुभयो । ‘हामीले वनमा आगो लगाउनेलाई पक्रन सकेका छैनौ, कति हेक्टर क्षेत्रफलमा आगो लागेको छ, त्यो पनि भन्न सक्दैनौं’, उहाँले भन्नुभयो ।

वनजंगलमा डढेलो लाग्ने समय भएको भन्दै उहाँले नियन्त्रण गर्न वन समिति तथा मातहतका कार्यालयहरुलाई निर्देशन दिएको जनाउनुभयो । ‘जंगलमा ठूलो आगो लागेमा निभाउन सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । वनजंगलमा डढेलो लाग्दा धेरै वन्यजन्तुहरुको बासस्थान सरेको छ । कति मरे त्यो पनि यकिन छैन । काठ दाउरा धेरै नष्ट भएका छन् । वन्यजन्तुलाई पनि असर धेरै पर्ने डिभिजन वन अधिकृत पौडेलको भनाई छ ।

मकवानपुरको जंगलमा विशेषगरी मयूर, कालिज, वनकुखुरा, न्याउली, कालो चिल, काग, सेतो परेवा, जुल्फे जुरेली, घर भँगेरो, चिवे, रानीचरा, कोइली, लाटोकोसेरो, फिष्टेजस्ता प्रमुख चराहरु पाइन्छ । यस्तै स्याल, फ्याउरो, मलसाँप्रो, दुम्सी, रातो बाँदर, लंगुर बाँदर, बँदेल, सालक, बाघ, गैंडा र चितुवा स्तनधारी जनावरहरु भेटिन्छन् ।

जंगलमा डढेलो लाग्दा गएको तीन दिनदेखि हेटौंडाको वातावरणमा प्रतिकूल असर परेको छ । धुवाँले गर्दा आँखा पोल्ने, श्वास फेर्न समस्या भएको छ । प्रदूषण बढेको छ । धुवाँले आँखा पोल्दा समस्या भएको बताउनुहुन्छ, हेटौंडा–२ की अञ्जु रिजाल । ‘जंगल नजिकै घर छ, जंगलबाट निस्केको धुवँँले आँखा पिरो हुने तथा श्वास फेर्न असहज भइरहेको छ’, उहाँले बताउनुभयो ।

डढेलोको धुवाँले आँखामा प्रत्यक्ष असर गर्ने बागमती प्रदेशको वन मन्त्रालयका वन तथा वातावरण विज्ञ सञ्जीव सुवेदीले बताउनुभयो । डढेलोले वातावरणमा असर गर्नुका साथै वन्यजन्तुको बासस्थानमा खराब गरेकोे तर्क राखे । वन्यजन्तुहरु आफ्नो बासस्थानबाट अन्यत्र सर्दा गाउँबस्तीमा निस्कने खतरा बढेको उहाँले बताउनुभयो ।

मकवानपुरमा २ सय ११ सामुदायिक वन छन् । प्रायः सबै वनजंगलमा डढेलो लाग्न सुरु भइसकेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलगाईंको भनाई छ । उहाँका अनुसार सामुदायिक वनले काठ दाउरा बेच्न नसक्दा वनजंगल संरक्षणप्रति नागरिकको अपनत्व घट्दै गएको छ । चालु वर्षमा वन डढेलोसम्बन्धी सचेतनाको कार्यक्रम समयमै हुन नसक्दा पनि समस्या भएकोे उहाँको ठम्याई छ ।