हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघका पूर्वमहासचिव एवम् अध्यक्ष पदका उम्मेद्वार महेन्द्र राउतले संघको ५४ औं वार्षिक सधारणसभा तथा अधिवेशन स्थगित गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । बिहीबार प्रेस विज्ञप्तिमार्फत् राउतले संघको साधारणसभा तथा अधिवेशन यथाशिघ्र सुचारु गर्न माग गर्नुभएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सम्भावित जोखिमबाट बच्नका लागि भन्दै वर्तमान कार्यसमितिले चैत्र २१, २२ र २३ गतेका लागि तय भएको संघको साधारणसभा तथा अधिवेशन कार्यक्रम एकाएक स्थगित गर्ने निर्णय गरेको थियो । सम्बन्धित सबै पक्षसँग आवश्यक छलफल गरी सुरक्षाको मापदण्ड अपनाएर साधारणसभा तथा अधिवेशन यथाशिघ्र सुचारु गर्नुपर्ने राउतको माग रहेको छ ।
निर्वाचन समिति, संघका पूर्वअध्यक्षहरु, प्रत्यासी उम्मेदवारहरुसमेतको उपस्थितिमा सम्पूर्ण उद्योग व्यवसायी तथा सदस्यहरुको राय सुझावको आधारमा वैकल्पिक उपायसहित कार्यक्रम निर्बाधरुपमा अगाडि बढाउन राउतले आग्रह गर्नुभएको छ । साधारणसभा र अधिवेशनले आम उद्योगी, व्यवसायीहरुमा उत्साह, उमंग र पर्वको आकार ग्रहण गर्दै अघि बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर साधारणसभा तथा अधिवेशन सुचारु गर्नुपर्ने उहाँको धारणा छ ।
राउतले आम मतदाताको सद्भाव र माया आफूप्रति रहेको भन्दै आभार व्यक्त गर्नुका साथै आगामी दिनहरुमा पनि समग्र उद्योगी, व्यवसायीहरुलाई निरन्तर सहयोगका लागि अपिल गर्नुभएको छ ।
संघको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुभएका अध्यक्षका प्रत्यासी राजकुमार न्यौपानेले यसअघि मंगलबार नै पत्रकार सम्मेलन गरी निर्णयको वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगनको विरोध गरिसक्नुभएको छ । संघको वर्तमान कार्यसमितिले चुनाव रोक्ने षडयन्त्र गरेको आरोप लगाउँदै न्यौपानेले पत्रकार सम्मेलन गर्दै चुनाव हुन केही दिन बाँकी रहँदै स्थगित गर्नु न्यायिक नभएको जिकिर गर्नुभएको थियो ।
संघको निर्वाचनमा उम्मेदवारी घोषणा गर्नुभएका अध्यक्षका अर्का प्रत्यासी कृष्णकुमार गुप्ताले संघको निर्णय सकारात्मक रहेको धारणा व्यक्त गर्दै साधाणसभा तथा चुनाव रोकिनु परिस्थितिजन्य घटना भएको बताउनुभयो । चुनाव स्थगन गर्दा आफूलाई पनि मर्का परको भन्दै गुप्ताले सम्पूर्ण व्यवसायीहरुको स्वास्थ्यको ख्याल गरेर यो निर्णय गरिएको बताउनुभयो । घोषित निर्वाचन नजिक आइसकेको अवस्थामा अचानक स्थगित हुँदा चुनाव प्रचार–प्रसारमा धेरै खर्च भएका कारण चुनाव छिट्टै भएको भए ठिक हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।