औपचारिक शिक्षाबाट वञ्चित भएकाहरुलाई उच्च शिक्षाको मौका दिन खुला विश्वविद्यालयको अवधारणा नेपालमा पनि सुरु भएको छ । खुला र दूर सिकाइको विधिमार्फत् अध्ययन–अध्यापन गर्नका लागि खुला विश्वविद्यालय स्थापना भएको हो । लामो समयदेखिको बहसले नेपाल खुला विश्वविद्यालय विधेयक लागू भएपछि २०७३ सालदेखि नेपालको शैक्षिक इतिहासमा नयाँ प्रयोग सुरु भएको हो । यो अध्ययन विधिले कानुनी मान्यता पाएपछि उपयोग गर्नेहरुको संख्या निकै बढेको छ । औपचारिक शिक्षाका लागि विश्वविद्यालय जान असमर्थ भएकाहरुलाई यो पाठ्य प्रक्रिया उपयोगी भएको हो । विशेषगरी गैरआवासीय नेपाली संघ र शिक्षा मन्त्रालयबीच सन् २०१० मा भएको सहमति नै यो शिक्षाका लागि प्रारम्भ विन्दुका रुपमा लिइन्छ ।

आर्थिकरुपमा कमजोर, सामाजिक तथा भौगोलिक विकटताजस्ता अवरोधका कारण उच्च शिक्षाको पहुँचबाट वञ्चित भएकालाई यो विश्वविद्यालयले ठूलो राहत दिएको छ । कम खर्चमै नेपालका गरिब तथा विपन्न नागरिकले आफ्नै अनुकूलमा उच्च शिक्षा अध्ययन गर्न पाउने अवसर मिलेको छ । बेलायतबाट सुरु भएको यो अवधारणा पछिल्लो समय विश्वका धेरै देशमा पूर्ण अभ्यासमा छ । खुला शिक्षा पद्धतिमा शिक्षण पद्धति नवीन हुनुका साथै प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने हुन्छ । शैक्षिक उपलब्धिका अतिरिक्त यस विश्वविद्यालयमा अध्ययन गर्नेहरुले प्रविधिमैत्री पनि बन्नु पर्दछ । जसले नयाँ ज्ञान, सीपमा पनि नागरिक अभ्यस्त हुने मौका दिएको छ । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि सहज हुने विश्वास राज्यले लिएको देखिन्छ र यो शिक्षाको अवधारणा पनि यही हो ।

नेपाल खुला विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमअन्तर्गत् हेटौंडामा पनि अभिमुखीकरण कार्यक्रम गरेको छ । विश्वविद्यालयका प्रतिनिधिले मकवानपुर बहुमुखी क्याम्पसको हलमा क्याम्पसका प्राध्यापक र क्याम्पस तहका विद्यार्थीलाई अभिमुखीकरण गरेको हो । खुला विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमका बारेमा सर्वसाधारणका जिज्ञासा मेट्ने प्रयास गरेको देखिन्छ । तर कार्यक्रम निकै सीमित व्यक्तिहरुबीचमा मात्र भएको छ । जसलाई थाहा छ वा आवश्यक नै छैन उनीहरुलाई अभिमुखीकरणको औचित्य हुँदैन । अध्ययनको चाहना भएका तर अवसर नपाएका वर्गको छनौट गरी त्यस क्षेत्रमा पुग्न सक्नुपर्दछ । तबमात्र खुला विश्वविद्यालयको अवधारणा पूरा हुने देखिन्छ ।

खुला विश्वविद्यालयमा अनलाइनमार्फत् अध्ययनको अवसर रहने भएकाले व्यस्त एवम् कार्यरत व्यक्तिका लागि उच्च शिक्षा अध्ययनको अवसर रहने जानकारी दिइएको छ । स्नातक तहदेखि विद्यावारिधि उपाधिसम्मका कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका सम्बन्धित विज्ञहरुको दावी छ । नियमितरुपमा भर्चुअल कक्षाका साथै आवश्यकताअनुसार बेलाबेलामा प्रत्यक्ष कक्षासमेत सञ्चालन हुने गरी कक्षा सञ्चालन गर्ने यो विश्वविद्यालयको आवश्यकता र औचित्यका विषयमा थप प्रचारप्रसार आवश्यक छ । जानकारीसमेत नपाएका मानिसले पनि लाभ लिन सक्ने गरी कार्यक्रम बनाउन आवश्यक छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी मकवानपुरमा पनि धेरै हुन सक्छन् । तर उनीहरुलाई यो विश्वविद्यालयले दिने सेवा, अध्ययन विधि र भर्ना प्रक्रियाजस्ता कुराको अभिमुखीकरण हुन आवश्यक छ ।