हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रका सरकारी विद्यालय शिक्षकले तलब माग गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । मंगलबार दिउँसो मेयर महतलाई भेटेर नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिले त्रैमासिक रुपमा प्राप्त हुनुपर्ने तलब प्राप्त नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिका अध्यक्ष दीपक अधिकारीले मेयर महतलाई ध्यानाकर्षणपत्र बुझाउनुहुँदै शिक्षकको तलब मासिक रुपमै वितरण गर्ने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको छ । त्रैमासिक रुपमा तलब भुक्तानीको व्यवस्थाले शिक्षकहरुको दैनिकी व्यवस्थापनमा समस्या भइरहेको जानकारी गराउनुहुँदै अधिकारीले मकवानपुरको राक्सिराङ, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकाले मासिक रुपमै शिक्षकलाई तलब भुक्तानी गर्दै आएकोले हेटौंडा उपमहानगरपालिकाले पनि मासिक रुपमा तलब भुक्तानीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।
ध्यानाकर्षण गराउन आएका शिक्षकहरुकै उपस्थितिमा मेयर महतले हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमाल, वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख मनोज सुवेदीलाई मासिक तलब वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको छ । त्रैमासिक रुपमा तलब भुक्तानी गर्ने व्यवस्थाले विशेषगरी बहालमा बस्ने शिक्षकहरुलाई घरभाडादेखि दैनिक रोजिरोटीका लागि समस्या हुने विषयमा आफू जानकार भएको उल्लेख गर्नुहुँदै मेयर महतले शिक्षकलाई मासिक तलब भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । हेटौंडा उपमहानगरक्षेत्रका सामुदायिक विद्यालयमा एक हजार एक सयको हाराहारीमा शिक्षक, कर्मचारी छन् ।