हेटौंडाः मनहरी–४, हाँडीखोलाको मसिनेस्थित पशुपतिनाथ माविमा अध्ययनरत बिपन्न बालबालिकालाई काठमाडौंको सिम्रिक युवा परिवारले शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयका बिपन्न ५० बालबालिकालाई सिम्रिकको तर्फबाट शैक्षिक सामग्री, झोला वितरण गरेको हो । शैक्षिक सामग्री पाएपछि बालबालिका खुशी भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी–४ का वडाअध्यक्ष ध्रव खड्काको प्रमुख आतिथ्यमा सामग्री वितरण गरिएको हो । सिम्रिक युवा परिवारका अध्यक्ष अनुपकृष्ण श्रेष्ठ, सचिव प्रतीक श्रेष्ठलगायत १० जनाको टोली विद्यालयमा पुगेर बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

आगामी दिनमा पनि सिम्रिक परिवारले विद्यालयका बालबालिकालाई निरन्तर सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । भविश्यमा पनि बालबालिकाको शैक्षिक कार्यका लागि कक्षा १ देखि १० सम्मका कमजोर आर्थिक अवस्थाका बालबालिकालाई सहयोग गर्ने सिम्रिक परिवारले जनाएको छ । विद्यालयमा हाल ५ सय ४४ जना बालबालिका अध्ययन गरिरहेका छन् ।