हेटौंडाः हेटौंडा–१ स्थित अमर माविको ३१ औं अभिभावक भेला, छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा शुक्रबार भएको अभिभावक भेलामा सचेत अभिभावक, उत्कृष्ट विद्यार्थी, कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, उत्कृष्ट शिक्षक, कर्मचारी, सहयोगी, पत्रकारलाई सम्मान गरेको छ ।
अभिभावक भेलाबाट २ जना महिलासहित ४ जना सदस्य सर्वसम्मत चयन भएको छ । सदस्यमा मानबहादुर लामा, उमाकान्त गौतम, मीना तामाङ र लक्ष्मी घिमिरे चयन हुनुभएको छ । निर्वाचित समितिले समाजसेवी, चन्दादाता, शिक्षासेवी मध्येबाट एक महिलासहित २ जना मनोनित गरेर समितिले पूर्णता पाएसँगै व्यवस्थापन समितिको अध्यक्ष चयन गरिनेछ । विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि, वडा अध्यक्ष वा सदस्य तथा प्रधानाध्यापकसहित ९ सदस्यीय समिति हुने व्यवस्था छ ।
अभिभावक भेलाकै अवसरमा विद्यार्थीका रचना प्रस्तुत गर्ने गरी अमरोदय भित्तेपत्रिकाको अनावरण समेत गरिएको छ । अभिभावक भेलामा विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले विद्यालयको शैक्षिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । ७ सय ३२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षागत अभिभावक भेला हुने गरेको, शिक्षकले नियमित पाठ योजना बनाउने गरेको, खाजा कार्यक्रम सञ्चालन भइरहेको, शिक्षक, विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको, निशूल्क सेनेटरी प्याड वितरण गर्ने गरिएको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभएको छ ।
अभिभावक भेलामा विद्यार्थीले नृत्य तथा गायन कला प्रस्तुत गरेका छन् । अभिभावक भेलामा वडाअध्यक्ष सविन न्यौपाने, वडा सदस्यहरु वेगम बराल, ईश्वरी रसाईली, सोम लामा, हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालको पनि उपस्थिति रहेको थियो ।