कैलाश धिताल, शिक्षक जनप्रिय मावि



सामान्य मानिसको बुझाइमा शिक्षा अनुभवको प्रसारण हो । शिक्षा समाजको ऐनको रुपमा स्थापित शास्वत सत्य हो । शिक्षाको प्रसारण निमित्त आवश्यक मध्यस्तकर्ता एवम् सम्वाहक गुरु हुन् । अहिलेको प्रचलित शब्दमा भन्दा ‘शिक्षक’ हुन् । यसो भन्दै गर्दा यी दुई शब्द एक–अर्काका पर्यायवाची हुन् र ? प्रश्न उब्जिनु शोभनीय छ । ओशोद्वारा लिखित पुस्तक ‘शिक्षामा क्रान्ति’को नेपाली अनुवादलाई आधार मान्दा दुई शब्द ‘गुरु’ र ‘शिक्षक’ एक हुँदै होइनन् । शिक्षक आजभन्दा पहिलेको दुनियाँमा थिएनन् । गुरु थिए, जुन पृथक छ । शिक्षण उनीहरुको धन्दा अवश्य थिएन । शिक्षण संस्थाहरु फ्याक्ट्री भएका छन्, अनि शिक्षक त्यस फ्याक्ट्रीका कामदार, किनकि शिक्षक कहिल्यै गुरु बन्न सकेनन्, न त यिनीहरुले कसैको आत्मालाई जगाइदिन सके, न त व्यक्तित्वलाई ।

हो, १९ औं शताब्दीपछिको औद्योगिक क्रान्तिले विश्वलाई आधुनिकता प्रदान गर्दै गयो । फलस्वरुप गुरु विस्थापित भए, शिक्षक स्थापित भए । विडम्बना आधुनिकताले स्थापित गरेको शिक्षकमा जागृति विरलै देखिन्छ । पेशाले म एक शिक्षक, कहिल्यै गुरु हुन नसकेको, कसैलाई जागृत गर्न नसकेको । शिक्षकभित्र एक ज्वलन्त अग्नि हुनुपर्छ, विद्रोहको चिन्तनको सोचाइको । तर के हामीसित सोचको अग्नि छ ? छैन भने हामी सबै शिक्षक एक दोकानदार भन्दा कम छैनौं । हामीमा डाहा हुनुपर्दछ, राम्रा कुराको तिब्र प्रसारणका लागि । भोक हुनु पर्दछ, केही नयाँ गर्ने । अनि लगाव हुनु पर्दछ । तर हामी आजभोलि नतिजाको विश्लेषण गर्दैगर्दा कुनै एक विषयमा विद्यार्थी बढी असफल भैरहँदा विद्यार्थी पढ्दैनन् भनेर पन्छन्छौं । कारणको खोजी गदैनौं, किन ? किनकि हामीलाई कारणको खोजी गर्न सुविधा उपलब्ध गराइएको होइन, हामीलाई त पढाउन सुविधा उपलब्ध गराइएको हो । हामी विद्यार्थीलाई राम्रो अंक ल्याएर पास गर्नुपर्छ, पढ्नुपर्छ भनेर उर्दी जारी गर्छौं । छातीमा हात राखेर मनन् गरौं, भोलि अध्यापन गर्ने विषय हामी कतिपटक अध्ययन गरेर कक्षाकोठामा प्रवेश गर्छौं ?

करिब निश्चित समयभित्र मैले अध्यापन गर्ने विषयको उत्तीर्ण दर यति प्रतिशतले वृद्धि र त्यसका लागि उक्त समयमा गर्ने सिर्जनात्मक कार्यहरुको विश्लेषण र निर्माण हामीले गरिरहेका छौं त ? अनि हामी दोकानदार नभए के त ? हामीले गुरुमा हुनुपर्ने गुणहरु गुमाउँदै गैरहेका छौं । हामीले हाम्रै सिर्जना शक्ति मारिरहेका छौं । हामी आफूले आफैंलाई घाइते बनाइरहेका छौं । अब सोच्नुहोस्, तपाईं हामीले उत्पादन गर्ने जनशक्ति कस्ता होलान् ? हामी कुनै शैक्षिक संस्थामा कार्यरत रहिरहँदा शैक्षिक क्षेत्रमा आएका समस्याहरुको समाधानमा हामीले के कति भूमिका निर्वाह गर्‍यौं ? नतिजा अनि विद्यार्थीको सर्वाङ्गिण विकासमा हाम्रो भूमिका कस्तो रह्यो ? हामी सबैले एकपटक समीक्षा गर्ने अवस्था आइसकेको छ । आमी आत्मकेन्द्रित बढी भैरहेका छौं । कुनै विद्यार्थीमा समस्या देखिएमा त्यस्ता समस्या विद्यालय प्रशासनतिर पठाउँछौं । त्यसले शिक्षकको आफ्नो व्यक्तित्व त मार्छमार्छ, सँंगै उसको आत्मा कहिल्यै माथि नउठ्ने गरी भासिन्छ । जब एक शिक्षक स्वतस्फुर्त जागृत हुँदैन, उक्त विद्ययालय अनि समुदाय कहिल्यै माथि उठ्दैन । कार्यस्थलमा आइलाग्ने विविध समस्या समाधान गर्न नसकि हतोत्साही हुने शिक्षकको जमात पनि ठूलै छ । समग्रमा हामी सब एक–अर्काको कमजोरी निकाल्न माहिर हौं । जुन गुरुको विशेषताभित्रै पर्दैन ।

यति भन्दैगर्दा शिक्षक गुरु बन्न नसक्नुका धेरै कारण छन् । ती कारण शिक्षकमात्रै हैनन् । शिक्षक हुनु एक भिन्न काम हो । शिक्षाको विषयमा हाम्रो जुन धारणा छ, त्यो हो नयाँ शिक्षक पनि बद्लिनु पर्दछ, अनिमात्र उभित्र एक ऊर्जाशील नयाँ शिक्षकको जन्म हुन्छ । शिक्षासम्बन्धी धारणा पनि शिक्षकलाई गुरु बन्न नदिने अर्को कारक तत्वको रुपमा रहेको छ । शिक्षाको अहिलेसम्मको हाम्रो धारणा सिर्फ इन्फर्मेसन फिडिङको छ । शिक्षाको अर्थ जे हो, त्यो अनुसारको कार्य गर्ने वातावरण सृजना गर्न नसक्नु शिक्षाको अर्को कमजोरी हो भने वातावरण बनाउन तयार नहुनु अन्य सम्बद्ध निकायको कमजोरी हो । भित्र भएको कुरा बाहिर निकाल्नु वास्तवमा शिक्षा हो । त्यसका लागि गरिने आवश्यकीय प्रक्रिया शिक्षाअन्तर्गत् पर्दछन् । तर हाम्रो परिवेशमा बाहिरी कुरा भित्र पसाउनु शिक्षा मानिन्छ ।

दुनियाँमा यति धेरै विश्वविद्यालयहरु छन् । हरेक वर्ष थाहा छैन, कति स्वर्णपदक बाँडिन्छ । कति पद्वी बाँडिन्छ । कति मान्छे प्रथम हुन्छन्, फेरि तिनीहरु कता हराउँछन् ,जिन्दगीमा उसको कुनै अत्तोपत्तो हुँदैन । त्यस्तै भैरहेको छ नेपालको शिक्षा क्षेत्रमा पनि । वर्षेनि हजारौं जनशक्ति विश्वविद्यालयले उत्पादन गर्दछ । उक्त विश्वविद्यालयको असम्भव भनेका व्यक्ति सफल भएका छन्, सक्षम भनेका व्यक्ति मार्ग भुलिरहेका छन् । शिक्षकको हातबाट बाहिर रहेका विविध समस्यामध्येको अर्को महत्वपूर्ण समस्या भौतिक परिवेश पनि हो, जसले शिक्षकलाई गुरु बन्नबाट रोक्यो ।

सम्पूर्ण कुराहरु उल्लेख गर्दागर्दै यहाँ लेख्नैपर्ने एउटा पक्ष छ कि, पेशाले मलाई पनि शिक्षकको रुपमा स्थापित गर्‍यो, बाटो बिराएको, कहिल्यै गुरु बन्न नसकेको । त्यस्तो शिक्षक यो समाजले खोजिरहेको छ, जसमा गुरुमय गुण होस् । जसले मरेका विद्यार्थीमा भोक जगाओस् । उनीहरुका सपनामा मलजल गरोस् । समाजलाई एक नयाँ आयाम प्रदान गर्न सकोस् । शिक्षामा नवीनतम क्रान्तिको विगुल फुक्न सकोस् । भोक जगाउन सकोस् । अभिभावकीय भूमिका निर्वाह गर्न सकोस् । लामो समयदेखि यस्तै गुरुको पर्खाइमा दूरदराजका लाखौं भोका आत्माहरु भड्किरहेका छन् । चिसोमा कठ्याङ्ग्रिएर आज त गुरुको दर्शन पाउने आशामा ती अबोध विद्यालयरुपी कारखानामा प्रवेश गर्दछन्, भोको अनि आधापेट लिएर । विडम्बना, ती अबोध, प्रेमिक मनहरुले कारखानाका कामदार, दुकानदार भेट्छन्, मजस्ता । तर, गुरु भेट्दैनन् ।