हेटौंडाः नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको १५ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । प्रतिष्ठानका अध्यक्ष हरिबंश भेटवालको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभाबाट तेस्रो कार्यकालका लागि हरिबंश भेटवाल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रा.डा. जोशीले नियमित व्यायाम र सन्तुलित खानपानले उच्च रक्तचाप र हृदयघातको समस्याबाट बच्न सकिने बताउनुभयो । उहाँले मानसिक तनावलाई घटाउन सक्दा पनि मुटु सम्बन्धी स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न सकिने बताउनुभयो । सरोकारवालाको साथ र सहयोग रह्यो भने प्रतिष्ठान मातहत रहेको हेटौंडा अस्पतालमा पनि मुटु स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्न सकिने उपकुलपति प्रा.डा. जोशीको भनाइ थियो ।

कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रयारोपण केन्द्र भक्तपुरका कन्सल्ट्यान्ट कार्डियो भास्कुलर सर्जन डा. प्रेमराज वैद्यले नियमित स्वास्थ्य परीक्षण गर्ने गरिए समयमै स्वास्थ्य समस्या पहिचान गरी आवश्यक उपचार गर्न सकिने बताउनुभयो । प्रतिष्ठानको साधारणसभाकै अवसरमा रक्तदान एवम् निःशुल्क मुटुस्वास्थ्य परीक्षण कार्यक्रम भएको थियो । कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् भने ३८ जनाले मुटुस्वास्थ्य परीक्षण गरेका छन् । कन्सल्ट्यान्ट कार्डियो भास्कुलर सर्जन डा. प्रेमराज वैद्य, डा. एन्जेला वैद्य र डा. बिनु कक्षपतिद्वारा निःशुल्क मुटुस्वास्थ्य परीक्षण गर्नु भएको हो ।