तस्बिर google.com ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका १६ जना कैदीहरुको कैद मिनाहा भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देशभरका कारागारका कैदी जीवन बिताइरहेका असल आचरण भएका कैदीहरुको कैद मिनाहाको घोषणा गर्ने क्रममा भीमफेदीका १६ जनाको कैद मिनाहाको गरिएको कारागार प्रमुख नारायण पाण्डेले बताउनु भयो ।

कारागार कार्यालयले ५६ जनाको नाम सिफारिस गरे पनि राष्ट्रपतिबाट भने १६ जना कैदीको मात्रै कैद मिनाहा भएको छ । सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर पाँच सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १ सय ७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४ सय १ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

असल आचरण भएका तथा विभिन्न मापदण्ड पूरा गरेका कैदीहरुलाई ४० प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत गरी सरकारले कैद मिनाहा गर्ने गरेको छ । प्रजातन्त्र दिवस, गणतन्त्र दिवस तथा संविधान दिवसमा कैद मिनाहा गर्ने गरिएको छ ।