प्रजातन्त्र दिवसले यो वर्ष पनि निरन्तरता पाएको छ । मनाउनका लागि भन्दै सरकारी कार्यक्रम बनाइन्छ । दिवसका लागि योजना बनाए पनि औपचारिकतामा मात्र सिमित हुँदै आएको छ । उत्सवका रुपमा मनाउनुपर्ने दिवसलाई महत्व दिइएको छैन । विशेषगरी फागुन ७ गते नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण घोषणा भएको दिन हो । जहानियाँ शासनविरुद्ध देशको राजशक्ति र नागरिक एकाकार भएर प्रजातन्त्र स्थापना भएको मान्यता छ । त्यस दिनको घोषणा नै प्रजातन्त्रका लागि पूर्ण थिएन, तर सुरुवात पक्कै पनि हो । त्यतिबेलाका राजा र नेताहरुले हिम्मत नगरेका भए आज गणतन्त्रसम्मको यात्रा तय हुने थियो वा थिएन भन्न सकिने अवस्था थिएन । त्यसैले आजको अवस्थाका लागि प्रारम्भ बिन्दु २००७ साल फागुन ७ गते नै हो ।

एक सय चार वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको ऐतिहासिक दिनलाई सरकारी भन्दा राजनीतिक दलका लागि महत्वपूर्ण हुनुपर्ने हो । यो दिनलाई स्मरण गर्न राजनीतिक दलहरुले उत्सवका रुपमा लिनुपर्ने हो । तर औपचारिकतामा सिमित बनाउने काम पनि राजनीतिक नेतृत्वले नै गरेका छन् । खुला राजनीतिको बिजारोपण भएकाले नै पटक–पटक राजनीतिक परिवर्तनका लागि बाटो खुलेको छ । नेपालमा प्रजातन्त्रकै लागि पटक–पटक आन्दोलन भएका छन् । प्रजातन्त्र प्राप्त हुने र गुम्ने परम्परा नै बनेको छ । उपलब्धि प्राप्त भएका दिनलाई मनाउने हो भने धेरै पटक दिवस मनाउनु पर्ने हुन्छ । त्यसैले राजनीतिक उपलब्धिका लागि स्मरण गर्नुपर्ने एक दिन निश्चित गर्नुपर्दा फागुन ७ हुनसक्छ ।

पछिल्लो समय प्रजातन्त्र शब्दलाई लोकतन्त्रमा रुपान्तरण गरिएको छ । लोकतन्त्र हुँदै नेपाली समाज गणतान्त्रिक शासन व्यवस्थामा आइपुगेको छ । तर शासन सत्ता सञ्चालकहरुले लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवहारमा लागू गरेका छन् त भन्ने प्रश्न उठेको छ । लोकतान्त्रिक मान्यता भनेको विधिअनुसार शासन सत्ता सञ्चालन हो । तर अहिले यही विषयमा एउटै दलभित्र पनि विवाद छ । लोकतान्त्रिक मूल्य मान्यता पालनाको दावी दुबै पक्षबाट हुने गरेका छन् । तर नागरिक अधिकार कुण्ठित गराउने क्रम बढ्दै गएका छन् । पटक–पटक भएका आन्दोलनपछि अब अधिकारका लागि नागरिकले सडकमा पुग्नुपर्ने छैन भन्ने थियो तर यतिबेला ठिक विपरित अवस्था छ ।

सत्ता पक्षदेखि विपक्षी दलहरु जनताका नाममा सडकमा उत्रिएका छन् । अकालमै संसद विघटन भएको छ । प्रदेश सरकारहरुमाथि अविश्वास प्रस्ताव दर्ता भएका छन् । तर विधिवत समाधानका लागि नेतृत्व वर्ग भाग्दै आएको छ । सत्तापक्षले नै सडकमै सभा गर्दा नागरिकको दैनिकी कष्टकर हुनु स्वभाविक छ । आम हड्तालले भोकै बस्न बाध्यता छ । सडकबाटै दैनिकी चलाउन बाध्य नागरिकलाई सेवा सुविधा दिनुपर्नेमा उल्टै रोजीरोटी खोस्ने काम भएको छ । यसरी हेर्दा प्राप्त राजनीतिक उपलब्धि नेताहरुका लागि मात्र देखिएको छ । आम नागरिक त त्यही राणाकालीन अवस्थाकै जीवन बाँच्न बाध्य छन् । तर पनि प्रजातन्त्र दिवस मनाइँदैछ । नागरिकका लागि वास्तविक प्रजातन्त्र कहिले आउने हो ?