हेटौंडा अस्पताल ।

हेटौंडाः हेटौंडा अस्पतालमा सरदर दैनिक दुई जनाले गर्भवतीको शल्यक्रियामार्फत् प्रसुती गराउने गरेको पाइएको छ । चालु आर्थिक वर्षको करिब ६ महिनाको अवधिमा हेटौंडा अस्पतालबाट ३ सय ७८ जना गर्भवतीको शल्यक्रिया गरेर प्रसुती गराइएको हो । प्रसुती सेवा लिन अस्पताल आउनेमध्ये करिब २० प्रतिशत गर्भवतीको शल्यक्रियाबाट सुत्केरी गराइएको छ ।

हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको हालसम्म १ हजार ९ सय ३८ जना गर्भवती महिलाले प्रसुती सेवा लिएकोमा ३ सय ६८ जनाको शल्यक्रिया गरिएको छ । प्रसुती सेवाका लागि अस्पताल आएकामध्ये १ हजार ४ सय ९२ जनाको सामान्य अवस्थामा सुत्केरी भएको छ भने ७८ जनाको जटिल अवस्थामा सुत्केरी भएको हेटौंडा अस्पतालका सूचना अधिकृत राजीव झाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षमा गर्भपतन गराउनेको संख्या १ सय ३२ जना रहेको सूचना अधिकृत झाले बताउनुभयो । गर्भपतन गराउनेमध्ये ६५ जनाको अवस्था जटिल बनेको झाले बताउनुभयो । गर्भवतीलाई प्रसुती गराउने क्रममा कुनै पनि महिलाको मृत्यु नभए पनि ४ जना शिशुको मृत्यु भएको झाले बताउनुभयो ।

अस्पतालमा सुत्केरी गराउँदा निःशुल्क औषधि, प्रयोगशाला परीक्षण र शिशुलाई कपडा दिने गरिएको छ । अस्पतालमा प्रसुती गराएबापत २ हजार रुपैयाँ र गर्भवतीले अस्पतालमा ४ पटक स्वास्थ्य जाँच गराएबापत ८ सय रुपैयाँ दिने गरको वेनकुमारी न्यौपानेले बताउनुभयो ।