हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले महिला हत्या गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ । गत माघ २५ गते राति बाराको महागढीमाई नगरपालिका–१ की कान्तिदेवी कुशवाहाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–१, बरियारपुर कचहरी टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा, बरियारपुरकै मठवा टोल बस्ने ४८ वर्षीया धनेश्वरीदेवी कुशवाहालाई पक्राउ गरेको छ ।

गत माघ २५ गते राति आफ्नै घरको प्यासेजमा मृतअवस्थामा फेला परेकी कान्तिदेवीको हत्या भएको ठहर गर्दै बारा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । काठको चिरपट, ढुंगा, चुच्चो भएको वस्तुसमेतको प्रयोग गरी टाउको तथा गालामा गहिरो घाउचोट देखिएको र अत्यधिक रक्तस्राव भएको देखिएपछि प्रहरीले हत्या भएको ठहर गर्दै अनुसन्धान अघि बढाएको थियो ।

हत्याको भोलिपल्ट बारा प्रहरीले धनुषा जिल्लाको लागगढबाट कुकुरसहितको विशेषज्ञ टोली झिकाएर घटनास्थलको सूक्ष्म अवलोकन गर्दा घटनास्थलमा रातो गम्छा र औंठी भेटिएपछि अनुसन्धानबाट उक्त सामान अभियुक्त लालबाबुको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । घटनास्थलमा भेटिएका सामानहरु अभियुक्तले आफ्नो भएको र घटनासमेत आफूले घटाएको स्वीकार गरेको मिश्रले बताउनुभयो ।

मृतक परिवार र हत्याका अर्की अभियुक्त धनेश्वरीबीच जग्गा जमिन र अन्य विवध बिषयमा समेत किचलो वादविवाद र रिसइवी रहेकोले आपराधिक प्रवृत्तिका लालबाबुलाई परिचालित गरी घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अभियुक्त लालबाबु यसअघि पनि २०५६ सालदेखि २०६१ सालसम्म तीनवटा डाँका मुद्दा, एउटा हातहतियार खरखजाना मुद्दा र एउटा सार्वजनिक अपराध मुद्दासमेतमा पक्राउ परी सजाय भोगेको बारा प्रहरीले जानकारी दिएको छ ।