विरोध र्‍यालीमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताहरु ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका शुभेच्छुक संगठनहरुले हेटौंडाको बुद्धचोकमा सरकारको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्धमा शनिबार हेटौंडास्थित नेपाली कांगे्रस मकवानपुरको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन संगमचोक, पिपलबोट हुँदै बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा कोणसभा भएको हो । सभाका प्रमुख अतिथी नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको र ओलीले संविधानको नै बलात्कार गरेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस निर्वाचनबाट नडराएको तर ओलीको अलोकतान्त्रिक कदमको विरुद्धमा सडकमा उत्रिनु परेको लामिछानेले बताउनुभयो ।

कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले फागुन ३ गतेदेखि ७७ जिल्लामै कांग्रेस जिल्ला समितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने जानकारी गराउँदै मकवानपुरमा पनि त्यसको तयारी भइरहेको बताउनु भयो । कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार रामचन्द्र अर्याल, नेपाल शिक्षक संघ मकवानपुरका उपाध्यक्ष सावित्री अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी तथा डिलए मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।