नवसर्जक पाइलाको पहिलो श्रृंखलापछि सामूहिक तस्वीर खिचाइँदै ।

हेटौंडाः विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्थापना गरेको नवसर्जक साहित्य चौतारीले नवसर्जक पाइला श्रृंखलाको सुरुवात गरेका छन् । विद्यालय तहमा अध्ययनरत विद्यार्थीले तयार पारेका रचना प्रस्तुती गर्ने श्रृंखलाको रुपमा नवसर्जक पाइलाको सुरुवात गरिएको हो । लकडाउनको समयमा अनलाइनमार्फत साहित्य रचनासम्बन्धमा प्रशिक्षण लिएका विद्यार्थीहरुले साहित्य अभ्यासका लागि चौतारी नै गठन गरेर प्रस्तुतीको अभ्यास सुरु गरेका हुन् । प्रस्तुतीको अभ्यासालाई नियमित गर्ने पनि बताइएको छ ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत छात्रा प्रसन्ना चौलागाईको अध्यक्षतामा गठित नवसर्जक साहित्य चौतारीले शनिबार हेटौंडा–४ स्थित सिस्नुपानी–साहित्य संगमको सभाकक्षमा नवसर्जक पाइलाको पहिलो श्रृंखला सुरुवात गरिएको छ । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जीएस निकेतन मावि, चन्द्रोदय मावि, अमर मावि, कृष्ण आदर्श मावि, प्रगति मावि, ब्रह्मदिक एकेडेमी, नवोदय शिशु सदन माविका विद्यार्थीले कथा, कविता प्रस्तुत गरेका थिए । विद्यार्थीले छन्द कविता समेत वाचन गरेका थिए । यस्तै विद्यालयका शिक्षकहरुले पनि रचना वाचन गरेर विद्यार्थीलाई प्रोत्साहित गर्ने कार्य गरेका थिए ।

जीएस निकेतन माविका नेपाली विषयका शिक्षक समेत रहनुभएका झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले विद्यार्थीहरुलाई अनलाइनमार्फत प्रशिक्षण् दिनुका साथै विषय तथा सन्दर्भअनुसार विभिन्न साहित्यकारलाई सहजकर्ताको रुपमा सहभागी गराएर विद्यार्थीलाई साहित्यिक प्रशिक्षण गराउनुभएको थियो । विद्यालय तहका विद्यार्थीको पहिलो कार्यक्रममा नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईले विद्यार्थी साथीहरुको उत्साहजनक सहभागिताका कारण साहित्यिक पत्रिका प्रकाशन गर्ने, साहित्यिक कृति प्रकाशन गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले नयाँ पुस्तामा साहित्यको चेतना अभिवृद्धि गर्न र साहित्य रचना गराउन अग्रज पुस्ताको भूमिका सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष आरसी रिजाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेश पौडेल, चन्द्रोदय माविका नेपाल शिक्षक तथा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य संगम मकवानपुरका सचिव डीबी बर्तौलाको पनि उपस्थिति रहेको थियो ।