भूकम्पीय दृष्टिकोणबाट नेपाल अति जोखिम क्षेत्र हो । विज्ञहरुले बारम्बार स्मरण गराउँदा पनि नेपाली समाज र नीति निर्माताले जोखिम न्यूनीकरणका लागि सक्रियता र चासो दिएको पाइँदैन । जसकारण सामान्य भूकम्प आउँदा पनि क्षति बढी हुने गरेको छ । भूकम्प कति समयमा आउँछ वा आउँदैन भन्ने पूर्वअनुमान गर्न नसकिने विषय हो । त्यसैले आउने समयको पर्खाई भन्दा पनि जहिले आए पनि त्यसका लागि पूर्वतयारी हुन आवश्यक हुन्छ । विश्वका धेरै देशहरुले आफूलाई भूकम्प प्रतिरोधी बनाइसकेका छन् । तर नेपाल आज पनि उत्तिकै जोखिम मोल्न तयार देखिएको छ । पूर्वप्रतिकार्यको तयारी हुन नसक्दा भूकम्पले क्षति पुर्‍याउँदै आएको छ ।

नेपालजस्तै भूकम्पीय जोखिमको क्षेत्र जापान पनि हो । दैनिक साना–ठूला भूकम्प गइरहँदा पनि जापानमा ठूलो क्षतिबाट समाज जोगिएको छ । जति ठूला कम्पन आए पनि क्षति भने निकै कम वा नगन्य मात्रामा हुने गरेको छ । यसको मुख्य कारण भनेकै भूकम्प प्रतिरोधी निर्माण प्रविधि नै हो । नेपालजस्तो देशमा भूकम्प गएको विषय निकै चर्चामा रहन्छ, तर विकसित देशहरुमा सामान्य नै बन्दै आएको छ । भूकम्प प्रतिरोधी प्रविधिको विकास भएपछि मानवीय वा भौतिक क्षतिमा न्यूनीकरण हुनु स्वभाविक नै हो । भूकम्पबाट बच्ने मुख्य उपाय भनेकै प्रतिरोधी भौतिक संरचना निर्माण गर्नु नै हो । भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न भौगोलिक नक्साको अध्ययन र विश्लेषण गरी संरचनाको निर्माण हुनु पर्दछ ।

नेपालमा निर्माण हुने अधिकांश संरचनाका लागि माटो परीक्षण तथा भौगोलिक बनावटका सम्बन्धमा अध्ययन नै हुँदैनन् । नागरिकले त आफ्नो जमिन जहाँ छ त्यही ठाउँमा संरचना निर्माण गर्दछ । उसको बाध्यता होला, तर यसमा राज्यले सहजीकरण गरिदिनु पर्दछ । यस्तै राज्यले निर्माण गर्ने संरचनाका लागि माटो परीक्षण, भूगोलको अवस्थाबारे विश्लेषण हुनैपर्ने हो । तर आजसम्म त्यस प्रकारको तयारीको आवश्यकता नै महसुस हुन सकेको छैन । त्यसैले गर्दा भूकम्पमा जोखिम बढ्ने गर्दछ । यहि कारण २०७२ सालको भूकम्पमा सार्वजनिक संरचनामा ठूलो मात्रामा क्षति पुगेको देखिन्छ । निर्वाहका लागि बनाइएको निजी आवास भत्कनु स्वभाविक भए पनि राज्यद्वारा निर्मित संरचनालाई भूकम्पले कम मात्रामा क्षति पुर्‍याउनुपर्ने थियो ।

अव्यवस्थित बसोबास, जनचेतनाको कमी, लापर्वाही आदिका कारण भूकम्प हाम्रा लागि काल बन्दै आएको छ । महाभूकम्प २०७२ पछि नेपालमा केही होशियारीमा बढोत्तरी देखिएको छ । हुन त त्यसयता ठूलो भूकम्प गएको पनि छैन । तर निर्माण भएका संरचनामा प्रतिरोधी प्रविधि र सीपको प्रयोग भएको अवस्था छ । राज्यले भूकम्प प्रतिरोधी भौतिक संरचनाका लागि निर्माण मापदण्ड नै तोकिदिएको छ ।

मापदण्डअनुसार निर्माण भए सुरक्षित हुने प्रतिशत बढ्नेछ । तर मापदण्डको पूर्ण पालना भए नभएको अनुगमन तथा निरीक्षण नियमित हुन सकेको छैन । नागरिकमा सरकारका लागि मात्र बलियो घर बनाउने भन्ने मान्यता रहेसम्म नियममात्र पनि पर्याप्त हुन सक्दैन । त्यसैले भूकम्प दिवसभन्दा पनि चेतना अभिवृद्धिका लागि अभियान आजको आवश्यकता हो ।