फाइल तस्बिर ।

हेटौंडाः कोरोना भइरस सङ्क्रमणको जोखिमका बीच पठनपाठन सुरु गरेका मकवानपुर जिल्लाका विद्यालयहरुमा पठनपाठन तथा परीक्षामा एकरुपता आउन सकेको छैन । करिब दुई महिनाअघिबाट औपचारिकरुपमा खुलेका विद्यालयहरुमा कतै पठनपाठन चलिरहेका छन्, कतै परीक्षा चलिरहेका छन् भने कतिपय विद्यालयले परीक्षा सञ्चालन गरिसकेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम अन्त्य भइनसकेको अवस्थामा खुलेका विद्यालयहरुमा आ–आफ्ना अनुकूलतामा कक्षा सञ्चालन भइरहेका छन् । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण सहजीकरण निर्देशिका लागू गरी पठनपाठनका लागि विभिन्न विकल्पको व्यवस्था गरेअनुसार मकवानपुरका विद्यालयहरुले पनि आ–आफ्नो अनुकूलतामा विद्यालय सञ्चालन गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आ–आफ्नो अनुकूलताअनुसार विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि मंसिर दोस्रो साताबाट नगर क्षेत्रका सबै विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

विद्यालय खुलेको दुई महिना हुन लाग्दासमेत कतिपय विद्यालयमा विद्यार्थीको पूर्ण उपस्थिति भइसकेको छैन । नियमित पठनपाठन सुचारु भएसँगै विद्यार्थीहरुको मूल्यांकन गर्न तथा विद्यार्थीलाई पढाईप्रति आकर्षित गर्न केही विद्यालयले त्रैमासिक-अर्धवार्षिक परीक्षा सञ्चालन तथा परीक्षाको तयारीमा जुटेका छन् । नगर क्षेत्रका निजी विद्यालयहरुले पुसको अन्तिम सातामा परीक्षा सम्पन्न गरिसकेका छन् । सामुदायिक विद्यालयमध्ये केहीले माघ लागेसँगै परीक्षा लिइरहेका छन् भने केहीले परीक्षाको तयारी गरेको पाइएको छ ।

हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालय तथा हेटौंडा–११ स्थित आनन्दभैरब आधारभूत विद्यालयले माघ २ गतेबाट त्रैमासिक परीक्षा सुरु गरेको छ । करिब ३ सय विद्यार्थी रहेको श्रमिक माविले दुई समूहमा परीक्षा सञ्चालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुर्‍यालले जानकारी दिनुभयो ।

हेटौंडा–४ स्थित नगरकै पूरानो भूटनदेवी माविले पनि माघको दोस्रो साताबाट अर्धबार्षिक परीक्षा सुरु गर्ने जानकारी दिएको छ । परीक्षा भनेपछि विद्यार्थीले पढाईमा अलि बढी चासो दिने भएकाले कक्षा १ देखि १० सम्मको परीक्षा सञ्चालन गर्ने तयारी भएको विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिनुभएको छ ।

हेटौंडा–१ स्थित अमर माविले पनि माघको अन्तिम सातामा अर्धवार्षिक परीक्षा सञ्चालनको योजना बनाएको छ । विद्यालयले विहान १० बजेदेखि ४ बजेसम्म नै सबै कक्षाको पठनपाठन गरिरहेको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविले अँग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीको परीक्षा सम्पन्न गरिसकेको छ । विद्यालयको अंग्रेजी माध्यमका विद्यार्थीहरुको परीक्षा निजी विद्यालयको परीक्षासँगै गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभयो ।

विद्यालयहरु नियमिति सञ्चालनमा आएपनि विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था तथा स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका कारण पठनपाठन तथा परीक्षामा एकरुपता आउन नसकेको हो । धेरै विद्यार्थी भएका विद्यालयहरुले दुई सिफ्टमा कक्षा सञ्चालन गर्नु परिरहेको छ भने थोरै विद्यार्थी भएका विद्यालयहरुले पनि विद्यार्थीबीच बढी घुलमिल हुन नदिन लगातार कक्षा सञ्चालन गरी चाँडै छाड्नुपर्ने अवस्था रहेको बताइएको छ ।