हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ५ महिनामा लागूऔषध ओसारपसारमा संलग्न ३४ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । ५ जना महिलासहित ३४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेकामध्ये ३० वटा लागूऔषध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म ५ सय ८४ किलो लागूऔषध गाँजा बरामद गरेको छ । यस्तै पुस महिनाको हालसम्म करिब ३ सय किलो गाँजा प्रहरीले बरामद गरेको छ । मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको मंसिरसम्म २२ किलो चरेस, नाइट्रोभेट ४५ सय २८ ट्याब्लेट बरामद गरेको छ । लागूऔषधको रुपमा प्रयोग हुने फेनारगन २ सय ट्याब्लेट, नुर्फिन २ सय १८ ट्याब्लेट तथा कोरेक्स २ सय ४० बोत्तल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेकाहरु अधिकांश मकवानपुरको रहेको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो । मकवानपुर प्रहरीले अहिले राक्सिराङ, बकैया, कैलाश तथा थाहा नगरमा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको उहाँले जानकारी दिनुभयो ।