हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको उपाध्यक्ष पदबाट मुक्त हुनुभएपछि मनिला विष्टको अभिव्यक्तिप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै राजीनामा पश्चात विष्टले दिएको अभिव्यक्तिप्रति कार्यालयका तर्फबाट गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

‘यस गाउँपालिकाकी उपाध्यक्ष श्री मनिला बिष्टले आफ्नो पदबाट अध्यक्ष श्री एकराज उप्रेती समक्ष दिएको लिखित राजीनामाको विषयसँग जोडेर मनिला विष्टले मिति २०७७/०९/१९ गते गरेको पत्रकार सम्मेलनमा यस कार्यालयका कर्मचारीहरुको विषयमा दिएको अभिव्यक्तिप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत चौलागाइद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उहाँले कर्मचारीहरुको चरित्र हत्या गर्ने प्रयास गर्नु पनि आफैंमा गैरकानुनी कार्य भएको उल्लेख गर्नुहुँदै कार्यालयका कर्मचारीहरू पदीय मर्यादा, आचरण र कार्यालयको जिम्मेवारीप्रति सजग रहेको र पदाधिकारीहरुले राजीनामा दिने र स्वीकृत गर्ने विषयमा कहिँ कतै कुनै कर्मचारीहरुको कुनै भूमिका र स्वार्थ नरहेको समेत स्पष्ट पार्नु भएको छ ।

विज्ञप्ती मार्फत गाउँपालिकाले गरेका निर्णयहरु निष्पक्ष र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने सन्दर्भमा कार्यालय प्रमुखको निर्देशन र आफ्नो पदीय जिम्वेवारीमा रहेर काम गरिरहेका कर्मचारीको मनोबल कमजोर बनाउने गरी त्यस्ता भ्रामक कुराहरु नगर्न र नलाग्न समेत उहाँले सम्पूर्ण मनहरीवासीलाई अनुरोध गर्नुभएको छ ।