हेटौंडाः बागमती प्रदेश सरकारले हेटौंडामा आफ्नै ट्रायल सेन्टर निर्माण गर्न जग्गा नभेटिएको बताएको छ । प्रदेशको राजधानी हेटौंडामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना गरेर यातायातसम्बन्धी काम तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुचारु भएपनि आफ्नै ट्रायल सेन्टर नहुँदा निजी ट्रायल सेन्टरसँग सम्झौता गरेर काम गरिरहेको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण गर्न सुरु गरेपछि कार्यालयमा कामको चाप पनि बढेको उहाँले बताउनुभयो । अहिले नयाँ लाइसेन्सका लागि दैनिक १ सय ५० जनाको हाराहारीमा अनलाइन फारम भर्ने गरेको उहाँले बताउनुभयो । सवारी चालक अनुमतिपत्र प्राप्त गर्न अनलाइनमार्फत् कार्यालयले फारम लिए पनि लिखित र ट्रायल परीक्षणका लागि प्रदेश सरकारको आफ्नै पूर्वाधार निर्माण नहुँदा निजी ट्रायल सेन्टरसँग सम्झौता गर्नुपरेको उहाँको भनाइ छ । यातायात व्यवस्था सेवा कार्यालयले हेटौंडा–११ स्थित बागेश्वरी ड्राइभिङ सेन्टरसँग २ वर्षका लागि लिखित परीक्षा र ट्रायल परीक्षा सञ्चालन गर्न सम्झौता गरेको थियो ।
आफ्नै ट्रायल सेन्टर निर्माण गरेर सवारी चालक अनुमतिपत्र वितरण गर्ने योजना भए पनि प्रदेश सरकारले उपयुक्त जग्गा पाउन नसक्दा अझै समय लाग्ने देखिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार हेटौंडा उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएमा तत्काल ट्रायल सेन्टरको पूर्वाधार निर्माण गर्न सकिने भन्दै ट्रायल सेन्टरका लागि करिब ३ विगाहा खाली जमिन आवश्यक पर्ने बताउनुभयो । प्रदेश सरकारले पनि ट्रायल सेन्टर निर्माण गर्न पुग्ने खाली जग्गा खोजी गरिरहेको उहाँले बताउनुभयो ।
हेटौंडाबाट अहिले स्कुटर, मोटरसाइकल, तीनपाङ्ग्रे र चारपाङ्ग्रे साना सवारी, ट्रयाक्टर, बस, ट्रकको चालक अनुमतिपत्र वितरण गरिँदै आएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले पनि ट्रायल सेन्टर निर्माण गर्न आवश्यक पहल भइरहेको जानकारी दिनुभएको छ । उहाँले पर्याप्त जग्गा नभेटिएका कारण काम अगाडि बढ्न नसकेको भन्दै छिट्टै जग्गाको व्यवस्था गरी ट्रायल सेन्टर निर्माणको काम अगाडि बढाइने जानकारी दिनुभयो । उहाँले यातायात क्षेत्रलाई डिजिटलाइज गर्ने काम भइरहेको पनि बताउनुभयो