शान्तिसुरक्षादेखि व्यावसायिक कारोबार तथा वित्तीय संस्थाहरु आवश्यक निगरानी प्रविधिबाट गर्नु पछिल्लो समयमा अनिवार्य जस्तै भएको छ । सरकारी निकायदेखि विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान, उद्योगहरुमा सीसीटिभी जडान गरिएका छन् । ठगी, चोरीदेखि अन्य आपराधिक गतिविधि नियन्त्रणमा यो प्रविधि वरदान नै बन्दै गएको छ । तर यसको प्रयोगका लागि राज्यले केही नीति नियम बनाइदिएको छ । जसले सीसीटिभी जडान गर्दा पनि स्थानीय प्रशासनमा जानकारी गराउनुपर्ने प्रावधान छ । तर मकवानपुरमा हालसम्म कति सीसीटिभी क्यामेरा जडान भए भन्नेबारे जानकारी नै छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रत्यक्ष निगरानी गर्दै आएको सीसीटिभी क्यामेराबाहेक जिल्लामा के कति जडान गरियो त्यसको तथ्यांक छैन । मकवानपुर प्रहरीले पनि मातहतका युनिटमा जडान भएका सीसीटिभी क्यामेराको यकिन तथ्यांक दिनसक्ने अवस्था छैन ।

सरकारले जारी गरेको कार्यविधि, २०७२ अनुसार आफ्नै घर र पसलमा समेत सीसीटिभी राख्न अनुमति अनिवार्य छ । सीसीटिभी क्यामेराको विवरण, बनेको कम्पनी, मेगापिक्सेल, डाटा स्टोरेज क्षमता, संख्या र जडान गर्नु पर्नाका कारणसहित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्छ । समाजका लागि अति आवश्यक बन्दै गएको यो प्रविधिको प्रयोग केही वर्षपछि आजको मोबाइलजस्तै नबन्ला भन्न सकिँदैन । आजभन्दा पचास वर्ष पहिला रेडियो किन्दा दर्ता गर्नुपर्ने र वार्षिकरुपमा कर तिर्नुपर्ने अवस्था थियो । पछि टिभीको अवस्था पनि उस्तै हुँदै समाज आजको अवस्थामा आइपुगेको हो । त्यसैले सीसीटिभी पनि आगामी दिनमा अति अनिवार्य वस्तुका रुपमा प्रयोग हुनेछ । तर आज राज्यले बनाइदिएका नियमको पालना गर्नु नागरिकको कर्तव्य नै हो ।

सीसीटिभी क्यामेरा व्यापारिक केन्द्रहरु बैंक, वित्तीय संस्था, उद्योग प्रतिष्ठान, सपिङ मल, होटल, गरगहना पसलहरुमा सुरक्षाका लागि जडान गरिँदै आएको छ । यस्तै सार्वजनिक प्रयोगअन्तर्गत् नागरिकको जिउधनको रक्षा गर्न, सरकारी सम्पत्ति, सांस्कृतिक सम्पदा तथा कारागारको सुरक्षादेखि कुटनीतिक क्षेत्रमा यो प्रविधिको प्रयोग हुँदै आएको छ । व्यक्तिगत आवास सुरक्षाका लागि पनि यसको प्रयोग बढ्दै गएको छ । तर शौचालय, चेन्जरुम, होटलको बेडरुम तथा संवेदनशील स्थानमा राख्न नपाउने कार्यविधिमा उल्लेख छ । विशेष गरेर शान्तिसुरक्षा कायम गर्न, अपराधि पहिचान गर्न तथा घटनाको अभिलेख राख्न प्रहरीले सीसीटिभीको प्रयोग गरेको पाइन्छ । मुख्य राजमार्ग, सार्वजनिक स्थान, व्यावसायिक केन्द्र तथा आवासीय सुरक्षाका लागि सीसीटिभीको विस्तार गरिएको अवस्था छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जिल्लामा जडान गरिएको सीसीटिभी क्यामेराको जानकारी नजिकैको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा अनिवार्य दिन सूचना जारी गरे पनि पूर्णरुपमा तथ्यांक भने आएको छैन । प्रविधि जडान गर्ने व्यक्ति वा निकायले सूचनाका आधारमा जानकारी दिनुभन्दा पनि प्रहरी र प्रशासनले आफ्नै प्रयासमा केही तथ्यांक संकलन गरेको छ । तथ्यांकअनुसार जडान गरिएकामध्ये सार्वजनिक स्थानका धेरैजसो क्यामेरा मर्मत नहुँदा बेवारिसेजस्ता देखिएका छन् । हेटौडा बजार क्षेत्रमा स्थानीय संघसंस्थाबाट जडान भएका केही सीसीटिभी क्यामेराले काम गरेको अवस्था छैन । सार्वजनिक स्थानहरुमा आपराधिक गतिविधि नियन्त्रणका लागि निकै महत्वपूर्ण यो प्रविधिको प्रयोगलाई चुस्त बनाउन सक्नु पर्नेछ । खरिद र जडानका लागि सहज प्रावधानदेखि उपयोग र प्रयोगमा चुस्तता आवश्यक छ ।