हुनत हाम्रो समाजमा गौतम बुद्ध पढेर महात्मा भएका हुन् र ? भनेर प्रश्न गर्ने विद्वानहरू पनि छन् । कालीदासजी पढेर महाकवि भएका हुन् र ? भनेर ख्याल ठट्टा गर्ने महापुरूषहरू पनि छन् । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला पढेर सात चोटी प्रधानमन्त्री भएका हुन् र ? भनेर ठट्टा गर्ने राजनेताहरू पनि छन् । फेरी पनि विद्या ददाती विनयम् भनिन्छ । विद्याले विनय भावको अनुभूती गराउँदाछ । विनय भावले स्वभाविकता र आज्ञाकारिताको प्रतिनिधित्व गरेको हुन्छ । जहाँ अलिकति पनि ज्ञानको भण्डार हुन्छ, त्यहाँ थोरै नयाँपन अलिकता सहजता र अलिकता मात्र भएपनि सरलताको आभाष हुन्छ ।
समाजका सबै वर्ग, तह र समुदायलाई एकैथलोमा जम्मा गर्न प्रेस मिडिया सक्षम त छँदैछ । पुरै समाजको सबै वर्ग, तह र समुदायको प्रतिनिधित्व गराएर छोटो, सटिक र चिटिक्क परेको कार्यक्रम गर्न पनि सक्षम रहेछ । मङ्सिर ३० गते हेटौंडास्थित होटल एभोकाडोमा एउटा यस्तै सन्देशमूलक र अत्यन्तै छोटो कार्यक्रम सम्पन्न भयो । रेडियो निकास र समृद्ध समाज दैनिकले गरेको कार्यक्रम सामान्य आँखाले हेर्नेहरूका लागि अलि अनौठो नै थियो । तर आयोजकले वास्तवमा अत्यन्त छोटो र सुन्दर कार्यक्रम गरेर देखाई दिए ।
छोटो चियापान भनेर मलाई पनि बोलाइएको थियो । आफू त गाउँघरमा चियापानका नाममा पार्टीले गर्ने गरेका लामा–लामा पट्यार लाग्दा कार्यक्रम हेरेर थाकेको मान्छे । त्यस्तै लामो कार्यक्रम र सबैको भाषणले आजित पार्ने होकी भनेर चिन्तित पनि थिएँ । तर त्यस्तो लमलस्ट केही पनि भएन । जम्मा जम्मी ३० मिनेटमा कार्यक्रम नै सकियो । चियापान पनि भयो । रेडियो निकास र समृद्ध समाज दैनिकको बारेमा सूचना र जानकारी प्रवाह पनि भयो । दुबै मिडियाको वार्षिकोत्सवको उपलक्ष्यमा केक काटेर खुवाउने काम पनि भयो । वार्षिकोत्सवकै उपलक्ष्यमा सम्पूर्ण सहभागीहरूलाई एक–एक थान सुन्दर पुस्तक उपलब्ध गराउने काम पनि भयो । सबैमा खुशी, सबैको सम्मान । छोटो कार्यक्रम सुन्दर सन्देश ।
कसैलाई गाली गर्नु परेन । कसैको विशेष प्रशंसा पनि गर्नु परेन । कोहि कसैसँग रिसाउनु पनि परेन । रिसाउला कि भनेर कसैलाई ढाडे बनाएर फुलाउनु पनि परेन । अनेक फुदा लगाएर कसैलाई सम्बोधन गर्नु पनि परेन । समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले संस्थाको छोटो परिचय, रेडियो र पत्रिका बारे जानकारी गराए । हेटौडाका वरिष्ट पत्रकार प्रताप विष्टले अहिले मिडिया र पाठकमा आएको परिवर्तन बारे जानकारीमूलक मिठो मन्तव्य राखे । त्यसपछि सुरेशकी अढाई वर्षकी छोरीले केक काटेर उद्युम मच्चाईन् । कार्यक्रम यत्ति मात्रै हो । सबैलाई रमाइलो लागेको पाइयो ।
पूर्वमन्त्री, माननीय सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उपमहानगर प्रमुख, गाउँपालीका अध्यक्ष, प्रोफेसरहरू, शिक्षकहरू, साहित्यिक क्षेत्रका लेखकहरू, विद्वान अधिवक्ताहरू, लब्ध प्रतिष्ठित वुद्धिजीवीहरू, व्यापारीहरू, उद्योगी व्यवसायीहरू, श्रमजीवी पत्रकारहरू र सरकारी कर्मचारीहरू सहितको ठूलै उपस्थितिमा छोटो तर अत्यन्त स्वादिलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सुरूवात चियापानबाट भयो भने समापन पुस्तक वितरण गरेर भयो । विभिन्न नेपाली लेखकहरूका विभिन्नथरीका पुस्तकहरू रोजेर समेत लिन पाउने व्यवस्थाले सहभागीहरूलाई अरू उत्साहित र प्रेरित पनि गरेको थियो ।
आखिर सभापति नबनाए पनि मज्जाको कार्यक्रम हुँदो रहेछ । प्रमुख अतिथि नभए पनि रूचीपूर्ण कार्यक्रम गरिँदो रहेछ । आसन ग्रहणको नाममा मञ्चको अगाडि कुर्सीको लाईन नराखे पनि चल्दो रहेछ । मञ्च अगाडि अतिथिहरूको ओइरो लाउनु पनि जरूरी रहेन छ । अतिथिहरूलाई घाँटीभरी फूलमाला र व्याच बिल्ला अनि थरीथरीका रंगीचंगी खादा बिना पनि सबैका निम्ती चाखलाग्दो र रमाईलो कार्यक्रम गर्न सकिँदो रहेछ । मंगलबार रेडियो निकास र समृद्ध समाज दैनिकका सम्पादक विद्वान मित्र सुरेश श्रेष्ठले यस्तै सुन्दर कार्यक्रम गरेर देखाए । अरूलाई कस्तो लाग्यो कुन्नी ? मलाई भने अति नै सुन्दर लाग्यो । चाख लाग्दो पनि भयो ।
रेडियो निकासले देश र समाजलाई निकास दिने खालका लोकप्रिय कार्यक्रम पस्केर जनतामा लोकप्रिय बन्दै जाओस् । समृद्ध समाज दैनिकले उत्कृष्ट सूचना र सामग्रीहरू पस्कँदै पाठकहरूमा पढ्ने बानीको विकास गर्न सकोस् । आजको नेपाल र नेपाली समाजको समस्या र भावनाहरूलाई प्रतिनिधित्व गर्न दुबै मिडिया सफल रहुन् । सम्पादक सुरेश श्रेष्ठ जीलाई हार्दिक बधाई । त्यसका संचालकहरूलाई पनि बधाई । दुबै मिडियाहरूलाई उत्तरोत्तर प्रगतिको लागी मुरी मुरी शुभकामना । जय जय होस् ।।।