हेटौंडाः बालमैत्री स्थानीय तहका लागि नीतिगत अवलम्बनसम्बन्धी गाउँपालिकास्तरीय दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबारबाट भीमफेदीमा सुरु भएको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष लामाले बालमैत्री स्थानीय तह घोषणा गर्न पूरा गर्नुपर्ने ३९ ओटा सूचकहरु वडा तहबाटै कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष लामाले बालमैत्री गाउँपालिका घोषणा गर्न सबै क्षैत्रको उत्तिकै सहयोग आवश्यक रहेको र गाउँपालिकाले छिट्टै निर्धारित सूचकहरु पूरा गरी बालमैत्री गाउँपालिका घोषणा गर्ने बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गाउँपालिकामा बालबिवाहको ठूलो समस्या रहेको भन्दै बालबिवाह अन्त्य गर्नु मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले बालबिवाहका घटना रोक्न गाउँपालिका सक्रिय भएको समेत बताउनुभयो । सबै क्षेत्रको सहयोग भएमा बालमैत्री स्थानीय तह घोषणा गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा विष्णुप्रसाद चतुर्वेदीले गाउँपालिकाका शिक्षा, स्वास्थ्य शाखालगायत सरोकारवालाहरुलाई प्रशिक्षण दिनुभएको थियो