कोभिडका विरुद्धको लडाईमा तयारी गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । अन्य मुलुकमा कोभिड महामारी भइरहँदा नेपालमा प्रवेश नै गरेको थिएन । विश्व स्वास्थ्य संगठनले नेपाल पनि जोखिममा छ भनिरहेको थियो तर संघीय सरकारदेखि स्थानीय सरकार र स्वयम् नागरिकले समेत कोभिडलाई सामान्य रुपमा रुपमा लिँदा आज अवस्था भयावह बनेको छ । महामारीले जनजीवन आक्रान्त हुन थलेपछिको तयारी पर्याप्त हुन सकिरहेको छैन । धेरै नागरिक संक्रमित भए भने विरामीहरुले अनेकौं सास्ती खेप्न बाध्य भइरहेका छन् । यही अवस्थालाई सम्वोधन गर्न अब मकवानपुरका स्थानीय तहहरुले कोरोना अस्पताल निर्माण गर्ने तयारी गरेका छन् । यसका लागि आवश्यक बजेटदेखि जनशक्ति व्यवस्थापन सुरु भएको छ ।
मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा मेडिकल अधिकृतसहितको सेवा हुने गरी कोभिड अस्पताल सञ्चालनमा आउने भएका छन् । स्थानीय तहको यो तयारीले नागरिक विश्वस्त हुने अवस्था बनेको छ । कोभिड भइहाले आफ्नो गाउँ–ठाउँमा उपचार हुन सक्ने वातावरण बन्दै गएको छ । विरामीलाई अप्ठेरो परेमा कहाँ जाने भन्ने चिन्ताको मात्रै कम भए पनि रोगसँग लड्ने शक्ति प्राप्त हुने छ । कोभिड अस्पताल सञ्चालन गर्न संघीय सरकारले स्थानीय तहलाई दश लाखका दरले सहयोग गर्ने भएपछि अस्पताल बनाउने तयारी सुरु भएको हो । मकवानपुरका दश स्थानीय तह मध्ये नौं वटाले तयारी सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका भित्र जिल्ला अस्पताल नै भएकाले तत्काल अन्य अस्पतालको आवश्यक नहुन सक्छ ।
स्थानीय रुपमै कोभिड अस्पताल सञ्चालन गर्दा नागरिकलाई सेवा लिन सहज हुनेछ । तर, तयारी मात्रले सेवा दिन सकिँदैन । दश लाख रकम अस्पताल सञ्चालनका लागि पर्याप्त हुँदैन । स्थानीय तहबाट पनि खर्चको व्यवस्थापन गर्न आवश्यक छ । यस्तै प्रत्येक अस्पतालमा दक्ष जनशक्तिको व्यवस्थापन अर्को चुनौती हो । केही पालिकाहरुले एमबीबीएस डाक्टरलाई नियुक्त गरिसकेका छन् भने अन्यले प्रक्रियामा रहेको बताएका छन् । डाक्टर मात्र भएर पनि हुँदैन उसका लागि सहयोगी जनशक्ति महत्वपूर्ण पक्ष हो । त्यस्तै अस्पताल र कर्मचारीका अतिरिक्त उपकरण र औषधिको व्यवस्थापनको चुनौती स्थानीय तहहरुले सामना गर्नुपर्ने छ । यस्ता अनेक समस्याहरुलाई पन्छाउँदै पालिकाहरुले स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गर्नु सेवाग्राहीका लागि सुखद पक्ष हो ।
संस्थागत आईसोलेसनमा उचित रेखदेख नहुने भन्दै कोभिड संक्रमितहरु यतिबेला होम आइसोलेसनमा छन् । घरमै बस्दा तत्काल कुनै समस्या भए मकवानपुरबाट काठमाडौं वा भरतपुर जानुपर्ने बाध्यता छ । अव स्थानीय तहहरुले नै स्वास्थ्यकर्मीसहितको सेवा दिने गरी अस्पताल सञ्चालन गरेमा स्थानीय जनताले राहतको महसुस गर्ने छन् । स्थानीय तहका अस्पतालमा उपचार नभएमा जिल्ला अस्पतालमा उपचार हुने व्यवस्था गर्नु आजको मुख्य आवश्यकता हो । तर हेटौंडामा त्यस्तो अस्पतालको कुनै चर्चा र तयारी छै । गाउँपालिकाहरुले आफ्नो क्षमता र हैसियत अनुसार अस्पताल बनाइरहँदा हेटौंडामा कोभिड डेडिकेटेड अस्पताल आवश्यक छ । अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिडकै लागि तत्काल अस्पताल बनाउनेतर्फ स्थानीय तहदेखि प्रदेश सरकारले पनि पहल गर्नु आवश्यक छ ।