मकवानपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम आयोजना गरेर मनाइने ।

हेटौंडाः मकवानपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम आयोजना गरेर मनाइने भएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा बसेको बैठकमा जिल्लाका स्थानीय तहहरु र सरोकारवाला संघ, संस्थाको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरीय र स्थानीय तहस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरेर दिवश मनाउने निर्णय गरेको हो । बैठकले प्रत्येक स्थानीय तहहरुमा सामाजिक दूरी कायम गरेर कम्तिमा एउटा कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रममा सामाजिक संघ, संस्थाहरुले सहभागिता जनाउने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।बैठकले यस वर्ष “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने नाराका साथ मनाउन लागिएको १६ दिने अभियानमा पहिलो दिन नोभेम्बर २५ तारिकमा जिल्लास्तरीय स्कुटी  र्‍याली तथा सेतो रिवन वितरण एवम् सोही दिन साँझ दीप प्रज्वलन कार्यक्रम गरी दिवशको शुभारम्भ गरिने र उक्त कार्यक्रमको संयोजन मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल मकवानपुरले गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले विभिन्न संघ, संस्थाहरुको सहभागितामा महिला हिंसा बिरुद्ध रोड व्यानर तयार गरी १६ दिनसम्म व्यानर प्रदर्शन गर्ने, महिला हिंसा बिरुद्धको कवि गोष्ठी आँचल साहित्य कला पुञ्जले आयोजना गर्ने, रेडियो सम्वाद तथा सामाजिक सञ्जाल मार्फत चेतनामूलक कार्यक्रम आयोजना गर्ने जसका लागि रेडियो वुलेटिनले संयोजन गर्ने र मानव अधिकार दिवस तथा १६ दिने अभियानको अन्तिम दिन डिसेम्बर १० तारिखमा समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जसको संयोजन तथा व्यवस्थापन जिल्ला समन्वय समितिले गर्ने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, हेटौंडा उपमहानगरपालिकाकी महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेलगायत विभिन्न सरोकारवाला संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।