आज शनिबार साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्या सञ्चालनको ३०० औं शृङ्खला आयोजना हुँदैछ । पञ्चायतकालमा तत्कालिन सत्ताविरुद्ध नागरिकलाई जागरुक गराउन साहित्य सङ्गम मकवानपुरको स्थापना गरी नियमित साहित्य सन्ध्याको आयोजना गर्ने गरिएको साहित्य सङ्गम मकवानपुरका संस्थापक नवराज शर्मा बताउनुहुन्छ । साहित्य सङ्गमलाई तत्कालिन निर्दलीय व्यवस्थाविरुद्ध नागरिकलाई जागरुक बनाउन साहित्यको माध्यमलाई आत्मसाथ गर्ने मञ्चको रुपमा स्थापित गर्ने प्रयास गरिएको थियो । साहित्य सङ्गमको संस्थापक हुँदै अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएका नवराज शर्मासँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः नियमित साहित्य सन्ध्याको ३०० औं शृङ्खला शनिबार हुँदैछ । तपाइँ साहित्य सङ्गमको संस्थापक पनि हुनुहुन्छ । कस्तो अवधारणाले नियमित साहित्य सन्ध्याको सुरुवात भएको थियो ?
शर्माः साहित्य सङ्गम मकवानपुरको स्थापना वास्तवमा मुलुकमा यथास्थितिको विरुद्ध सङ्घर्षरत विभिन्न किसिमले सङ्घर्ष गरिरहनु भएका विभिन्न क्षेत्रका मानिसहरु खास गरेर कलाकारिता क्षेत्रमार्फत शासन व्यवस्था पञ्चायतको विरुद्धमा विभिन्न किसिमले सङ्घर्ष गरिरहेका मानिसहरुलाई सङ्गठित गरेर उनिहरुको आवाज मुखरित गर्न जनताका बीचमा पुर्याउने र जनतालाई जागरुक गराउने, सचेत गराउने पञ्चायती व्यवस्था, यथास्थितिका विरुद्धमा समाजको निर्माण गर्ने उद्देश्यसहित साहित्य सङ्गम मकवानपुरले स्थापना गर्ने दिशामा हामी त्यति बेलामा केहि युवाहरु सङ्गठित भएर हामीले नियमित साहित्य सन्ध्यालाई अभियानको रुपमा सुरुवात गरेका थियौं ।
समाजः त्यतिबेलाको जटिलता कस्तो थियो ? पञ्चायत विरुद्ध तपाईहरुले जनतालाई जागरुक गराउनका लागि साहित्यलाई एउटा माध्यम बनाउनु भयो । तत्कालिन समयमा तपाईहरुले कस्ता असहजता व्यहोर्नुपर्यो ?
शर्माः साहित्यिक गतिविधि गर्न त्यो पनि पञ्चायत व्यवस्था भित्र विभिन्न किसिमले मानिसहरु सङ्गठित भएर गरिने साहित्यिक कार्यक्रममा स्वभाविक रुपले विद्रोहका स्वरहरु, परिवर्तनका चाहनाहरु अभिव्यक्ति हुन्थे नै । यथास्थितिका पक्षधरहरु पनि हाम्रो कार्यक्रममा आउँथे । उनिहरुले पनि आफ्ना कुराहरु राख्दथे । तर मुलतः अभियानका रुपमा सबैभन्दा ठूलो जवाफ त्यो बेलामा साहित्य सन्दर्भ परिवर्तनकारीहरुको थियो । जटिलता त जरुर थियो । किनभने कुनै पनि कार्यक्रममा साहित्यिक कार्यक्रम आयोजक समिति भनेर गरेका थियौं । कति वटा कार्यक्रममा प्रहरीका हस्तक्षेप पनि भयो । केहि साथीहरु पक्राउ पनि पर्नुभयो । हामीहरु पनि भागाभाग भयौं । कैयौ घटनाहरु पनि भयो । कतिपय घटना देशका साहित्यकारको उपस्थितिमा भएको कारणले कसैले छेक्न पनि सकेन । साहित्यिक कार्यक्रम चै निर्वाध किसिमले सम्पन्न भएका पनि छन् । कतिपय साहित्यिक कार्यक्रम एक दिनले नभ्याएर तीन दिनसम्म पनि चलेका छन् । त्यसरी कार्यक्रम गरेका हुनाले हाम्रो त्यो साहित्यिक जमातको प्रभाव एक किसिमले बढ्दै थियो । त्यतिबेला पनि प्रतिबन्धित भए तापनि दलहरु पनि थिए नै । देशमा प्रतिबन्धित रुपमा भएपनि कुनै दलसँग हामी सम्बन्धित थिएनौं । परिवर्तनकारी सबैसँग भने सम्बन्धित थियौं । परिवर्तनकारीका नेताहरु, जनताहरु सबै हाम्रा नजिकका पात्र हुन्थे । हामी उनिहरुको नजिकको पात्र हुन कोसिस गर्दथियौं ।
समाजः नियमित साहित्य सन्ध्याको आयोजना गर्दा समुदायमा कस्ता कस्ता प्रभावहरु पाउनुभएको थियो ?
शर्माः समुदायमा सकारात्मक प्रभाव पाएका थियौं । साहित्यिक कार्यक्रम एउटा हलमा मात्र नभई पछि साहित्य सङ्गम मकवानपुर दर्ता भएपछि २०४६ सालको परिवर्तनले अलिकति सहज रुप ल्याएपछि मात्र हामीले भवन निर्माणको काम सुरु गरेका हौं । एक ठाउँमा साहित्यिक कार्यक्रम बनाएका हौ नत्र हामी साहित्य सङ्गम मकवानपुरले आयोजना गर्ने मासिक साहित्यिक कार्यक्रम विभिन्न गाउँमा, विभिन्न चौतारीमा, विभिन्न विद्यालयहरुमा, विभिन्न जमघटहरुमा आयोजना गर्दथ्यौं । कार्यक्रम सुनेपछि मानिसहरुमा एक प्रकारको नयाँ रक्तप्रवाह भएको महसुस हुन्थ्यो । उनिहरु जागरुक हुन्थे र उनिहरु हामीहरुसँग सम्पर्कमा हुन्थे । जिल्लाभरका कुनाकुनामा रहेका कैयौं मानिसहरु साहित्य सङ्गम मकवानपुरमा आवद्ध हुँदै गए, कोहि सोझै सदस्यता लिएर, कोहि हेटौंडा आएका बेलामा सदरमुकाम भएका कारणले कार्यक्रम रहेछ भन्ने थाहा भएर सहभागी हुन्थे । कहिले काहिँ निरासाको डरले गर्दा खेरी कहिले काहि ५-७ जना मात्र जम्मा हुन्थ्यौं भने कहिले सयौं मानिसहरु हुन्थे । त्यसरी अनैकौं निरासा र आशाहरु गुजार्दै साहित्यिक कार्यक्रमलाई निरन्तरता दिँदै गयौं । मासिक सन्ध्या कार्यक्रम चलिनै रह्यो जुन आजको अवस्थासम्म चलिरहेको छ ।
समाजः अहिले पनि तपाई नियमित साहित्य सन्ध्यामा सहभागी भइरहनु भएको छ । साहित्य सङ्गम मकवानपुरको परिकल्पनाअनुसार नियमित साहित्य सन्ध्याको आयोजना गर्दा तपाईहरुको समयमा जे जति समुदायमा योग्दान थियो अहिलेको गतिविधिलाई हेरिरहँदा त्यसमा के कस्ता सुधारका कामहरु गर्नुपर्ने देख्नुहुन्छ ?
शर्माः वास्तवमा साहित्य सन्ध्या कार्यक्रम सुरु गरेको भनेको मानिसको चेतना, नवचेतनाको जागरण, पुनर्जागरण र देशमा यथास्थिति विरुद्ध मानिसहरुलाई उत्प्रेरणा दिन, उत्साहित गर्न, परिवर्तनका निम्ती सकेको योगदान गर्न प्रेरित गर्ने उद्देश्यबाट सुरु गरिएको हो । यो बिस्तारै स्थितिमा परिवर्तन आउँदै गयो । बिस्तारै २०४६ सालको परिवर्तन भयो । त्यसपछि विभिन्न संस्थाहरु दर्ता हुने कानुनी प्रक्रियामा छिर्न थाले । त्यसैगरी साहित्य सङ्गम मकवानपुर २०४६ सालमा दर्ता भयो । त्यस यता आएपछि सङ्गमले विस्तारै भवन प्राप्त गर्यो। साहित्यिक व्यक्तिहरुबाटै एकजनाले. दिनुभयो रामचन्द्र (आरसी) जिले जमिन दिनुभयो । जमिन प्राप्त भएर भवन निर्मँण भएपछि साहित्यिक कार्यक्रम त्यहि स्थिर हुन थाल्यो । सबैले पत्याउन थाले । विभिन्न स्थानीय निकायहरुले पत्याउन थाले । पुरस्कारको व्यवस्था हुन थाले । अलि–अलि लोभ लालच बढ्न थाले । नाम पनि चल्ने स्थिति देखिएपछि साहित्य सङ्गमको स्थापनाकालमा जुन उद्देश्यबाट सुरु गरेका थियौं ती मानिसहरु अलि अलि पाखा लग्दै अरु विभिन्न आशय भएको भित्र पस्न थाले त्यसलाई कब्जा गर्न मनशायसँगै अढेश लाग्दै गएपछि साहित्य सङ्गम मकवानपुरमा एउटा स्थिति बाट अर्को स्थितिमा, एउटा गोरेटोबाट अर्को गोरेटोमा प्रवेश गर्न थालेपछि तलमाथि अवश्य परेको छ ।