हेटौंडाः मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने झोलुङ्गे पुल शुक्रबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुलको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गर्नुभएको हो । राक्सिराङ गाउँपालिका–२ को साइटार र वडा नम्बर ३ को गोठारी जोड्ने झोलुङ्गे पुल निर्माणपछि त्यस क्षेत्रका एक हजार पाँच सयभन्दा बढी घरधुरी लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार सङ्घीय सरकारको सशर्त अनुदानअन्तर्गत ४३ लाख २० हजार रुपैयाँमा उपभोक्ता समितिमार्फत झोलुङ्गे पुल निर्माण गरिएको हो । राडो नेपालको प्राविधिक सहयोगमा झोलुङ्गे पुल निर्माण गरिएको हो । झोलुङ्गे पुलको लम्बाई ११० मिटर रहेको छ ।
झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङ, २ नम्बर वडा अध्यक्ष सूर्यबहादुर मुक्तान, ३ नम्बर वडा अध्यक्ष बाबुलाल स्याङ्तान र ८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजाको पनि उपस्थिति रहेको थियो । पुलको निर्माण कार्य करिब डेढ वर्षमा पूरा भएको हो ।