फाइल तस्वीर ।

हेटौंडाः सङ्घीय सरकारकै प्रोटोकललाई आधार बनाएर प्रदेश सरकारले कोरोना सङ्क्रमितको पिसिआर विधिबाट दोस्रो पटक स्वाब परीक्षण नगर्ने भनेपछि स्थानीय तहद्वारा सञ्चालित आइसोलेसन वार्डले कोरोना सङ्क्रमित व्यक्तिको स्वाब सङ्कलन नै गर्न छाडेको छ । सरकारी प्रयोगशालामा परीक्षण गर्ने अवस्था नहुँदा कोरोना भाइरस सङ्क्रमित सर्वसाधारण दोस्रो पटक स्वाब परीक्षणका लागि निजी प्रयोगशालामा जान बाध्य भएका छन् ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमा रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वास्थ्यमा सामान्य समस्या भएपछि हेलिकप्टर चढेर उपचारका लागि काठमाडौंमा जाँदै गर्नुहुँदा प्रदेश राजधानी हेटौंडाका नागरिक भने आइसोलेसन वार्डबाट स्वाब परीक्षण नहुने जानकारीपछि निराश भएर घर फर्किरहेका थिए । मुख्यमन्त्री पौडेलले बिहीबार मात्रै आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको र प्रदेशवासीलाई पनि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहनुहुँदा बागमती प्रदेशको राजधानी हेटौंडाका नागरिक भरतपुरस्थित निजी प्रयोगशालामा परीक्षण गराउन जान बाध्य छन् । कोरोना भाइरस सङ्क्रमित भई तनावमा रहेका सङ्क्रमितहरु कोरोना भाइरस सङक्रमणमुक्त भएको प्रमाणस्वरुप प्रयोगशाला परीक्षणको नतीजा नलिई परिवारकै सदस्यसँग घुलमिल हुन कठिन छ । छरछिमेक र समुदायमा रहने त्रास र आफू नियमित काममा फर्कन पनि पिसिआर परीक्षणमा कोरोना सङ्क्रमणमुक्त भएको प्रमाण लिनु अनिवार्य छ ।

बुधबार हेटौंडास्थित आइसोलेसन वार्डले सङ्क्रमितको पुनः परीक्षण नगर्ने बताएपछि बाध्य भएर भरतपुर जानुपरेको बताउनुहुन्छ हेटौंडा–४ का शंकर न्यौपाने । न्यौपानेको परिवारमा ६ जना कोरोना भाइरस सङ्क्रमित छन् । न्यौपानेले बुधबार आफ्नो र श्रीमति रिता न्यौपाने भण्डारीको मात्रै स्वाब पुनः परीक्षण गरिएको जानकारी दिनुभएको छ । न्यौपाने दम्पत्तिसँगै हेटौंडा–४, हुप्रचौरका प्रदीप सुवेदी र रश्मि आचार्य दम्पत्ति पनि भरतपुर गएर चितवन मेडिकल कलेजको प्रयोगशालामा प्रतिव्यक्ति दुई हजार रुपैयाँ शूल्क तिरेर पिसिआर विधिबाट स्वाब परीक्षण गराउनुभएको छ । प्रयोगशाला परीक्षणको रिपोर्ट कोरोना सङ्क्रमणमुक्त भएको पाइएपछि ढुक्क भएको न्यौपाने बताउनुहुन्छ ।

आफ्नै गाडी र परीक्षण गर्नका लागि आर्थिक अवस्था राम्रो भएका कारण आफूलाई सजिलो भए पनि आम नागरिकका लागि निजी प्रयोगशालासम्म पुगेर स्वाब परीक्षण गर्न सहज नभएको भन्दै न्यौपानेले चिन्ता समेत व्यक्त गर्नुभएको छ । कोरोना सङ्क्रमित भएर घरमै या स्थानीय तहले सञ्चालन गरेको आइसोलेसनमा बसेर अहिले सरकारले भने जस्तो १४ दिनको आइसोलेसनपछि स्वास्थ्य अवस्था सामान्य भए परीक्षण नै नगरी कोरोना सङक्रमणमुक्त भएको मान्न सहज नभएको उहाँको भनाइ छ । कोरोना सङ्क्रमित व्यक्ति २ महिनासम्म सङ्क्रमणमुक्त नभएको अवस्थालाई हेरेका स्वास्थ्यकर्मी समेत कसरी १४ दिनको आइसोलेसनलाई पर्याप्त मान्ने भन्नेमा अन्यौलमा छन् । यस्तो स्थितिमा आम नागरिकले आइसोलेसनको अवधिकै आधारमा सङ्क्रमणमुक्त भएको मान्ने अवस्था नरहेको स्वास्थ्यकर्मी नै बताउँछन् ।

यता सरकारी प्रयोगशालाले दोस्रो पटक स्वाब परीक्षण नै नगर्ने भनेपछि आम सर्वसाधारणमा चिन्ताको अवस्था छ । प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लामै निजीस्तरको कोरोना परीक्षण प्रयोगशाला नहुँदा कोरोना सङ्क्रमित भनिएको व्यक्ति भरतपुर या काठमाडौं गएर स्वाब परीक्षण गर्नुपर्ने अवस्था छ । कोरोना भाइरस सङ्क्रमित व्यक्ति भरतपुर या काठमाडौं जाने अवस्था सहज समेत छैन । आम नागरिकको आफ्नै यातायातको साधन हुन्न । सङक्रमित भनिएपछि बाहिर हिँड्डुल गर्न पनि सहज छैन । व्यक्तिगत सवारी साधन नहुँदा सार्वजनिक यातायातको साधनमा जाने अवस्था पनि रहन्न । यदि सङ्क्रमित व्यक्तिले सार्वजनिक सवारी साधनमा यात्रा गरेर भरतपुर या काठमाडौं जाँदा अन्य निरोगी व्यक्तिमा पनि सङ्क्रमणको जोखिम रहने स्वास्थ्यकर्मी बताउँछन् । यस किसिमको अन्यौलका बीच केही स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको पुनःपरीक्षण गर्ने क्रममा नयाँ व्यक्तिको रुपमा नाम दर्ता गरेर स्वाब परीक्षण गराउने उपाय समेत अपनाउन बाध्य भएको बताउँछन् ।