हेटौंडाः वर्षकै प्रमुख पर्व बडा दशैंपछि बुधबारबाट सरकारी कार्यालयहरु खुलेका छन् । गैरसरकारी तवरका कार्यालयहरु पनि क्रमशः खुल्न थालेका छन् । दशैंको टिकाको पर्सीपल्टबाट कार्यालय खुले पनि सेवाग्राही भने न्यून सङ्ख्यामा मात्रै कार्यालयमा देखिएका छन् ।
दशैंपछि कार्यालय खुलेको दोस्रो दिन बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिकाको कार्यालय लगायत अधिकांश कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून रहेको कार्यालयका अधिकारीहरुले बताएका छन् । कार्तिक ७ गते शुक्रबार फुलपातिको दिनदेखि बन्द रहेको सरकारी कार्यालयहरु कार्तिक १२ गते बुधबारदेखि खुलेका हुन् । दशैंको टिका लगाउने कार्य पूर्णिमासम्म चल्ने भएकाले अधिकांश सर्वसाधारण अझै टिका लगाउनमै व्यस्त छन् ।