हेटौंडाः सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचार नगर्ने स्पष्ट पारेका बेला बागमती प्रदेश सरकारले भने आफ्नो मातहतका आठवटै अस्पतालहरुमा निशूल्क उपचार सेवा जारी राख्ने जनाएको छ । बागमती प्रदेश सरकार मातहतका ८ वटा अस्पतालमा सञ्चालित आइसोलेशन वार्डहरुमा कोरोना सङ्क्रमितहरुको निशूल्क उपचार भइरहेको र यसलाई जारी राखिने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भएको छ ।
बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पतालसहित सिन्धुली, रामेछाप, धादिङ, रसुवा, भक्तपुर, सिन्धुपाल्चोक र नुवाकोटको जिल्ला अस्पताल र अस्पतालद्वारा सञ्चालित आईसोलेशन वार्ड र अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालित थप १५ वटा आईसोलेशन वार्डमा कोरोना सङ्क्रमितहरुको उपचार निशूल्क भइरहेको र यसलाई निरन्तरता दिइने मन्त्री दुलालले बताउनुभएको छ । सङ्घीय सरकारले सिमित लक्षित वर्ग बाहेकका विरामीले उपचार खर्च आफैं व्यहोर्नुपर्ने जनाएसँगै अन्योलको स्थिति रहेको बताउनुहुँदै मन्त्री दुलालले प्रदेश सरकार मातहतका अस्पतालबाट निशूल्क उपचार सेवा जारी रहने स्पष्ट पार्नुभएको छ ।
सामाजिक विकास मन्त्री युवराज दुलालले बागमती प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालबाट कोभिड–१९ को परीक्षण र उपचार साविक बमोजिम निःशूल्क रहिरहेको र दशैंको बिदामा पनि परिक्षण र उपचार सुचारु रहिरहने भनी मंगलबार साँझ सामाजिक सञ्जालमा समेत लेख्नुभएको छ । मुख्यमन्त्रीसँग छलफल गरेर प्रदेश सरकारले निशूल्क उपचार गर्ने विषयलाई स्पष्ट पार्न चाहेको मन्त्री दुलालले बताउनुभयो ।