हेटौंडाः वडा दशैं २०७७ को अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिक र रेडियो निकास ९३.४ मेगाहर्जले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ बुधबार एक कार्यक्रमकाबीच समृद्ध समाज राष्ट्रिय दैनिक र रेडियो निकास ९३.४ मेगाहर्जका सञ्चालक, कार्यरत सञ्चारकर्मी, व्यवस्थापक, प्राविधिक, कार्यक्रम सञ्चालकसहित कार्यक्रमका अतिथिबीच आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै सम्पादक सुरेश श्रेष्ठले कार्यक्रममा सहभागी सबैलाई विभिन्न विषयका पाठ्यपुस्तक उपहार प्रदान गर्नुभयो ।

चाडपर्वको समयमा फुर्सदको समयमा अध्ययनका लागि उपयोगी हुनुका साथै पठन संस्कृतिको समेत विकास गर्ने हेतुले दशैंको शुभकामनासहित उपहार स्वरुप पुस्तक प्रदान गरिएको सम्पादक श्रेष्ठले बताउनुभएको छ । रेडियो निकासका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुर एवम् साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईको पनि उपस्थिति रहेको थियो । हुमागाईले पुस्तक वितरण तथा सञ्चालक र कार्यरत सञ्चारकर्मी, कर्मचारीबीच आपसी परिचयात्मक कार्यक्रम समेत आयोजना गरिनु सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई पुस्तक हस्तान्तरण गर्नुहुँदै रेडियो निकासका अध्यक्ष प्रताप विष्ट ।

सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले पठन संस्कृतिको विकास गर्ने गरी पत्रिका र रेडियोको तर्फबाट भएको कार्य सराहनीय बताउनुभयो । उहाँले पठन संस्कृतिको विकासले सभ्य समाजको विकासमा सहयोग पुर्‍याउने पनि बताउनुभयो । रेडियो निकास सञ्चालक समूहका सदस्य प्रा.डा. बलराम भट्टले जिम्मेवार र जवाफदेही मिडियाको अभ्यासमा अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रममा प्रताप विष्टले सबैलाई पठन संस्कृतिलाई प्रवद्र्धन गर्नु जरुरी रहेको औँल्याउनुहुँदै रेडियो र पत्रिकाले समुदायमा खुसियाली बाँड्ने गरी सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।